सात बुँदे सहमति खारेज भएको घोषणा नगरे सम्म आफुहरु सरकारमा जानका लागि वार्तामा समेत नबस्ने कांग्रेस सुशील कोइरालाको भनाइ

विराटनगर  – विराटनगरबाट प्राप्त समाचार अनुसार  कांग्रेस सभापति सुशील कोइरालाले अँध्यारो कोठाभित्र दई दलले गरेको सात बुँदे सहमति खारेज भएको घोषणा नगरे सम्म आफुहरुले सरकारमा जानका लागि वार्तामा समेत नबस्ने वताएका छन् ।

‘माओवादीले र एमालेले सात बुँदे सहमति गरेर ठूलो गल्ती गरेका छन्, पहिला गल्ती सच्याउनु पर्छ, अनि नयाँ सहमति गरेरमात्र सरकारमा जाने कुरा आउँछ,’  सोमवार यहाँ सञ्चारकर्मीहरुले कुरा गर्दै सभापति कोइरालाले भने ।  शान्ति प्रकृया, संविधान निर्माण र सत्ता बाँडफाँड लगायतका विषयमा वार्तामा बसेकै बेलामा कांग्रेसलाई अलग गरेर सात बुँदे सहमति गरेर माओवादी र एमालेले धोका दिएको उनको भनाइ थियो ।

सभापति कोइरालाले वार्तामा बसेको शक्तिलाई उपेक्षा गरी कोठामा बसेर सहमति गर्नु घोर आपत्तिजनक भएको टिप्पणी गरे । ‘यदि सात बुँदे सहमति खारेज हुँदैन भने हामी राम्रा कामको सरकार बाहिरै बसेर पनि सकारात्मक सहयोग गर्छौं,’ कोइरालाको भनाइ थियो ।

संविधान सभामा सबैभन्दा ठुलो दलको हैसियत भए पनि माओवादी इमान्दार नभएकै कारण समस्या भएको भन्दै सभापति कोइरालाले सबै इमान्दार हुने हो भने घोषित समयमा शान्ति प्रकृया टुंग्याएर संविधान जारी गर्न सकिने बताए । हतियार र लडाकु व्यवस्थापन र बहुलवादप्रति माओवादी इमान्दार हुने हो, भने संविधान लेख्न र शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन समय नलाग्ने कोइरालाको भनाइ थियो ।

मंगलबार सुनसरीको इटहरीमा हुने नेपाल प्रेस युनियनको राष्ट्रिय अधिवेशनको उदघाटन गर्न पूर्व आएका कोइरालाले बुधबार विराटनगरमा आयोजना गरिने स्वं गिरिजाप्रसाद कोइरालाको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।