काठमाडौ । काठमाडौबाट प्राप्त समाचार अनुसार विज्ञान तथा प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रण कार्यालयले नेपालका सूचना र प्रविधिका तथ्याङ्कलाई जोखिमबाट जोगाउने कार्य थाल्न सूचना प्रविधि आपतकालीन सहयोग कार्यदल गठन गरेको छ ।
सात सदस्यीय सो कार्यदलले आउँदो वैशाखदेखि काम थाल्ने सो कार्यालयका नियन्त्रक राजनराज पन्तले जानकारी गराउनुभयो ।
कार्यदलले सूचना र प्रविधिका तथ्याङ्कलाई हुन सक्ने जोखिमबाट जोगाइने, अनुगमन गर्नेलगायतका काम गर्ने नियन्त्रक पन्तले बताउनुभयो ।
उहाँका अनुसार जापानको जस्तो प्राकृतिक जोखिम नेपालमा आए त्यसबाट सूचना र प्रविधिका तथ्याङ्कहरुलाई जोगाएर राख्न कुनै व्याकअफ नभएकाले कार्यदलमार्फत त्यसका लागि काम थालिने छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार जापानमा आएको पछिल्लो प्राकृतिक जोखिमबाट त्यहाँको भौतिक संरचनामा क्षति पुगे पनि दुई घन्टामा आंशिकरुपमा इन्टरनेट सेवा सुचारु भइसकेको थियो ।