काठमाडौं – संचारमाध्यममा उल्लेख भए अनुसार सरकारले नेपाल आयल निगम व्यवस्थापन सुधारका लागि उच्चस्तरीय आयोग गठन गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निगमको वित्तिय सुधार, अन्तर्राष्ट्रिय मुल्य समायोजन लगायतका विषयमा १० दिनभित्र सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको हो । आयोग संयोजक एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्य छन् ।
आयोगमा माओवादी सभासद् हरि रोका, कांग्रेस सचेतक लक्ष्मणप्रसाद घिमिरे, मधेसी जनअधिकार फोरमका चन्द्रिका यादव, जनमुक्ति पार्टीका अर्जुन राई, राप्रपाका कल्पना राणा, पूर्वसांसद सोमप्रसाद पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्याति बानियाँ र प्राध्यापक अमृत नकर्मी सदस्य छन् ।
मन्त्रिपरिषद् बैठकले पूर्व सांसद पुरुषोत्तम पौडेललाई प्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार नियुक्त गरेको छ । पौडेल पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा दिन एमाले उपाध्यक्ष बामदेव गौतमले सुरु गरेको हस्ताक्षर अभियानका एक सहयोगी हुन् । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा निर्मल भट्टराई नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले सिटिइभीटीको उपाध्यक्षमा डा. गोपालप्रसाद खनार र भरतपुर क्यान्सर अस्पतालको निर्देशकमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेको छ ।



