शान्तिप्रक्रियामा देखिएको गतिरोधबारे राष्ट्रपतिद्वारा साना दलका ४ नेताहरुसँग बेग्लाबेग्लै भेट

काठमाडौं  – काठमाडौबाट प्राप्त समाचार अनुसार   राष्ट्रपति डा.रामवरण यादवले जेठ १४ अघि संविधान बनाइसक्न लडाकु समायोजनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शान्तिप्रक्रियामा देखिएको गतिरोधबारे उनले साना दलका ४ नेताहरुसँग बिहीवार बेग्लाबेग्लै भेटका क्रममा उनले समायोजनलाई प्राथमिकता दिनुपर्ने औंल्याए ।

राष्ट्रपतिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा, नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छे, नेकपा मालेका अध्यक्ष सिपी मैनाली र नेकपा -संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीसँग राष्ट्रपति निवासमा भेटेका हुन् ।

‘राष्ट्रिय सहमतीले समायोजनबारे टुंगो नलगाई संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढ्दैन’, दलका नेतालाई दिएको सुझाव उद्धृत गर्दै राष्ट्रपतिका स्वकिय सचिव ललितबहादुर बस्नेतले काबताए ।

राप्रपा अध्यक्ष जबराले मुलुकको अहिलेको राजनीतिक अवस्थाप्रति राष्ट्रपति असाध्यै चिन्तित पाएको बताए ।

‘जेठ १४ भित्र शान्ति प्रक्रिया र संविधान निर्माण पूरा नभए हुन सक्ने खतराप्रति राष्ट्रपतिले गम्भीर भई जिज्ञासा राख्नुभयो’, जबराले भने ।

दलका नेताहरुले पनि समायोजनपछि मात्र संविधान निर्माणको कामले गति लिने धारणा राष्ट्रपति समक्ष राखेका थिए ।