काठमाडौं – प्राप्त समाचार अनुसार जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदले नेपालको अवस्थाबारे समीक्षा गरेको छ ।
राष्ट्र संघीय मानवअधिकार उपउच्चायुक्त क्युङ-ह्वा काङले नेपालको मानवअधिकार स्थितिबारेको प्रतिवेदन परिषदमा बुधबार प्रस्तुत गरेकी थिइन् ।
नेपालस्थित उच्चायुक्तको कार्यालयका अनुसार अघिल्ला वर्ष भएका मानवअधिकारसँग सम्बन्धित मुख्य घटना र तिनले ल्याएका चुनौतिमा प्रतिवेदन केन्दि्रत छ । राजनीतिक गतिरोध लम्बिएको, संविधान बनाउने काममा ढीलाइ भएको, संक्रमणकालिन न्याय संयन्त्रहरुको स्थापना हुन नसकेकोजस्ता विषय प्रतिवेदनमा परेका छन् ।
मानवअधिकारका उल्लंघन र जातजाती, भाषा र लिंगका आधारमा भएको भेदभाव निकै चिन्ताको विषय भएको उच्चायुक्तको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
जेनेभामा उपउच्चायुक्त काङले विश्वव्यापी आवधिक समीक्षा (युपिआर) का सिफारिसहरुको कार्यान्वयन गर्न सरकार, राष्ट्रिय मावनअधिकार संस्थाहरु र नागरिकसमाजलाई सघाउन उच्चायुक्तको कार्यालय तयार रहेको बताएकी थिइन् ।



