मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले नयाँदिल्लीमा शनिबार तराईका तीनवटा सशस्त्र संगठनका प्रतिनिधिसँग वार्ता गरेका हुन्।
आगामी १४ जेठभित्र संविधान निर्माण नहुने अवस्थामा मधेसवादी दलको भूमिका के हुने तथा संविधानमा आफ्ना मुद्दा सम्बोधन नभए कसरी अगाडि बढ्ने र जनविद्रोहबारे उनीहरूबीच कुराकानी भएको स्रोतको दाबी छ । तीन मधेसवादी दलले झलनाथ खनालको नेतृत्वमा सरकार गठन भएपछि जनविद्रोह गर्ने घोषणा गरेका थिए ।
स्रोतका अनुसार राजनीतिक भेटघाटमा भारत पुगेका मधेसवादी दलका अध्यक्षहरूले उनीहरूलाई यसअघि नै नयाँदिल्ली बोलाएका थिए ।
आगामी १४ जेठभित्र नयाँ संविधान नबनेमा वा मधेसका माग सम्बोधन नभएमा कसरी अगाडि बढ्ने भन्ने रणनीतिबारे पनि छलफल भएको थियो । स्रोतका अनुसार छलफलमा कुनै निष्कर्ष ननिस्केको र नयाँदिल्लीको संवादलाई नेपालभित्रै रहेर पनि निरन्तरता दिने सहमति भएको छ । तीन मधेसवादी दलका अध्यक्षहरूले काठमाडौंमा फर्केको तीन/चार दिनपछि नै सशस्त्र समूहसँग नयाँदिल्लीमा भएको छलफल र सहमतिलाई खुलासा गर्ने सहमति पनि बैठकमा भएको स्रोतको दाबी छ ।
नयाँदिल्लीमा रहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने सशस्त्र संगठनहरूसँग वार्ता नगरेको दाबी गरे।
तर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले नयाँदिल्लीमा तराईका सशस्त्र संगठनहरूसँग भएको छलफललाई घुमाउरो गरी पुष्टि गरे
उनीहरूको राजनीतिक भेटघाट कार्यक्रम आइतबारसम्म रहने स्रोतले बताय। भारतीय नेताहरूसँग नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण र मधेसवादी दलको भूमिकाबारे कुराकानी भएको पनि अध्यक्ष महतोले बताए ।
मधेसवादी दलका अध्यक्षहरूले शनिबारै भारतीय नेताहरूसँग पनि भेटघाट गरेका छन।
सद्भावना अध्यक्ष महतो, तमलोपा अध्यक्ष ठाकुर सोमबार स्वास्थ्य परीक्षण गराई त्यही दिन स्वदेश र्फकने कार्यक्रम छ
। फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारको भने र्फकने कार्यक्रम तय भएको छैन ।


