रसुवाको लाङटाङमा धेरै वर्ष पछि ठूलो हिउँ पहिरो जाँदा दुई जनाको मृत्यु, २० परिवार विस्थापित


 

रसुवा – प्राप्त समाचार अनुसार  धेरै वर्ष पछि ठूलो हिउँ पहिरो जाँदा रसुवाको लाङटाङमा दुई जनाको मृत्यु हुनाको साथै २० परिवार विस्थापित भएका छन् ।

 

हिउँ पहिरोमा परि मृत्यु हुनेमा लाङटाङ-१ का ३५ वर्षीय कामी तामाङ लोप्चन,उनको ७ महिनाको कान्छी छोरी फूलमायाको मृत्यु भएको छ भने उनको १३ वषिर्या ठूलो छोरी ल्हारिछोमोको दाहिने हात भाँचिएको स्थानीय तेन्जिन पासाङ लोप्चनले बताए । हिउँ पहिरो बिहीबार राति भएको र टेलिफोन समेत अवरुद्ध भएकोले जानकारी दिन कठिनाई भएको थियो । हात भाँचिएकी ल्हारिछोमोको लाङटाङ स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि बोकेर सदरमुका धुन्चे रसुवा अस्पताल लगिएको स्थानीयले बताए ।

हिउँ पहिरोले कामीको घर सहित सेदार तामाङ, छाप्पा तामाङ, छिरिङवाङदी तामाङ, र पिङगा तामाङको घर गारो सहित माथिबाट आएको उडाएर लगेको छ । ती पाँच घरका २० जना परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । उनीहरुको घरमा चौरी अनेत्र गोठमा रहेकोले क्षति हुन नपाएको तेन्जिनले बताए । हिउपहिरोले १६ घरको छाना उठाएर २ सय मिटर लाङटाङ खोला परि जंगलमा पुर्याएको उनले जानकारी दिए ।

हिउ पहिरोले गर्दा लाङटाङमा संचालित भीस्याट टेलिफोन समेत अवरुद्ध भएको थियो । शनिबार अपरान्हबाट फोन संचालन आएको तेन्जिनले बताए । लाङटाङमा ठूलो हिउ पहिरो गएकोले इन्द्रबक्स गण र प्रहरी  खटिएको छ ।

लाङटाङ सदरमुकाम धुन्चेबाट पैदल हिडेर दुई दिन लाग्छ । लाङटाङ १ र २ वडाको बीच बाट पहिरो आएको स्थानीयले बताए । लाङटाङको उक्त वडामा मुण्डु र सिन्दुम गाउँ रहेको छ । हिउ पहिरोले बढी १ नम्बर वडामा क्षति पुर्याएको छ । यसरी पहाडै माथिबाट आएको अहिले सम्मकै ठूलो हिउ पहिरो भएको तेन्जिनले बताए । उनका अनुसार पाँच घरको अन्नपात र भाँडाकुडा केही  छैन । ‘केही छैन,’ तेन्जिनले भने, ‘उनीहरुलाई सहयोगको आवश्यकता छ ।’ लाङटाङ राष्ट्रिय निकुन्जमा पर्ने यो पर्यटकीय ठाउ हो ।

 

हिउ पहिरोले घरका छाना उठाएपछि स्थानीयवासिन्दा उडाएको छाना खोला पारी जंगलमा खोजिरहेको उनले बताए ।  छाना छाउने जस्ता एक दिनको बाटो पैदल भरियाले लैजादा महंगो पर्छ ।  स्थानीय वासिन्दाले पाँच घरको २० लाख रुपैयाभन्दा बढी क्षेति भएको बताएका छन् । हिमालको दृष्यावलोकन गर्ने र हिमाल चढ्ने पर्यटकीय मौसम भर्खर सुरु भएकोले पर्यटक भने हिउपहिरोमा परेका छैनन् । हिउ पहिरोले बिजुलीका खम्मा समेत क्षति पुर्याएको छ । लाङटाङ-१ र २ मा विद्युत आपूूर्ति समेत बन्द छ ।