विस्फोटनमा परि जुम्ला धापा गाविसका ४० वर्षीय रामदत्त शर्मा, बाँके कोहलपुर-८ पिपरीका ३८ वर्षीय तिलकबिक्रम चन्द, बाँके नेपालगंज-१३ आदर्शनगरकी ४० वर्षीय राधा यादव, बाँके गनापुरकी ३५ वर्षीय सिर्जना यादव, सोही स्थानकी ६० वर्षीय छंगा यादव र बाँके जयसपुरकी ५ वर्षीय आस्मा जसगढ घाइते भएका छन् । उक्त घटनाअघि बाँकेका विभिन्न स्थानमा शनिवार मात्र तीन वटा विष्फोट भएका छन् । त्यस्तै, बर्दियाका चार स्थानमा फेला परेका बम निष्कृय पारेको प्रहरीले जनाएको छ ।
सर्वसाधारण सवार सार्वजनिक यातायातमा गराइएको उक्त विस्फोटन साथै जनजीवन आतंकित पार्नेगरी सार्वजनिक स्थान र सर्वसाधरणको घर-पसल लक्षित गरी विस्फोट र बमहरू राखिनु निकृष्ट, अमानवीय र मानवताविरोधी काम भएको मानवअधिकारवादी संघ-संस्थाले बताएका छन् । भगत सिंह अध्यक्ष रहेको तराई-मधेसको पृथकतावादी सशस्त्र समूहले ती विष्फोटका घटनाको जिम्मा लिएका छन् । सिंहले फोनसम्पर्क गरी तराई-मधेसविरोधी गतिविधि विरुद्ध चेतावनी दिन बिष्फोट गराएको बताएका छन् ।
बाँके र बर्दियामा भएका बम विस्फोटका घटनाले शान्ति सुरक्षाको अवस्था कमजोर बनेको निष्कर्ष निकाल्दै सुरक्षा सर्तकता देखाउन प्रहरीलाई आग्रह पनि गरेका छन् । संयुक्त प्रेस विज्ञप्ती निकाल्नेहरुमा पुनरावेदन बार एशोसिएसन र मानवअधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संघ-संस्थाहरु एडभोकेसी फोरम, इन्सेक, हिमराइट्स र हुरोन छन् ।



