फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारद्वारा मधेसवादी दललाई अलग राखेर संविधान जारी भए आफूहरुलाई मान्य नहुने र मुलुकमा मुठभेड निम्त्याउने चेतावनी

विराटनगर – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसवादी दललाई अलग राखेर बहुमतका आधारमा संविधान जारी भए आफूहरुलाई मान्य नहुने र त्यसले मुलुकमा मुठभेड निम्त्याउने चेतावनी दिएका छन् ।

गच्छदारले भने’दुई तिहाईको शक्तिमा शान्ति प्रकृया टुंग्याउने र संविधान लाद्ने काम गरे त्यसले मुलुकलाई मुठभेड तर्फ धकेल्छ ।’ टेलिभिजन पत्रकार समूहले सोमबार विराटनगरमा आयोजना गरेकेा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गच्छदारले दुई तिहाइको बलमा शान्ति प्रकृया टुंग्याएर संविधान जारी गर्ने तयारी भइरहेको र त्यसलाई आफुहरुले सफल हुन नदिने बताए । तराईका दलहरुलाई सहमत नगराए संविधान ल्याउन नसक्ने गच्छदारले ठोकुवा गरे ।   

दुई तिहाई बहुमतले मात्र होइन ठुला तिन दल मिलेर तिन चौथाइले समेत तराईलाई उपेक्षा गरेर संविधान जारी गर्न नसक्ने उनले बताए । जेठ १४ गतेसम्म संविधान नबने मधेशी मोर्चाले सशक्त  आन्दोलन गर्ने भन्दै गच्छदारले संविधान निर्माण हुनुअघि माओवादी हतियार र लडाकु व्यवस्थापन गरी शिविर खालि हुनुपर्नेमा जोडदिए ।

पछिल्लो समय तराईमा भएका श्रृङ्खलाबद्ध विस्फोटमा मधेशी मोर्चाको प्रतक्ष, परोक्ष कुनै पनि संलग्ना नभएको र भारत भ्रमणमा आफुहरुले कुनै पनि सशस्त्र समूहसँग भेट नगरको दाबी उनले गरे ।