एकीकृत माओवादीद्वारा मजदूर भातृ संगठनका तीनवटै कमिटीलाई भंग गरी राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय

काठमाडौ – एकीकृत नेकपा माओवादीले एक आपसमा कुटाकुटको हदमा उत्रिएको मजदूर भातृ संगठनका तीनवटै कमिटीलाई भंग गरी राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको माओवादी स्थायी समितिको बैठकले तीन नेता अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय मोहन बैद्य र डा‌. बाबुराम भट्टराई पक्षमा बनेका तीन वटै समानान्तर संगठन भंग गर्ने निर्णय गरेको हो ।

दाहाल समर्थित शालिकराम जमकटेल, बैद्य पक्षका बद्री बजगाई र भट्टराई पक्षका लालध्वज नेम्वाङले नेतृत्व गरेको मजदुर संगठनको समानान्तर संगठन खुलेपछि एक आपसमा कुटाकुटको अबस्था श्रृजना भएको थियो ।

स्थायी समितिले राष्ट्रिय सम्मेलन आयोजक समिति गठनका लागि तीनै वटा संगठकनका नेताहरुसंग छलफल गर्नेसमेत उल्लेख गरेको छ ।

प्रबक्ता दीननाथ शर्माले संवाददाताहरुलाई दिएको जानकारी अनुसार तराईमा हालै भएको श्रृंखलाबद्ध बम बिष्फोटको भर्त्सना गर्दै त्यसलाई नियोजित भनेको छ । साथै विष्फोटन भएका स्थानहरुमा माओवादीले चैत २० गते बिरोध सभा गर्ने निर्णय समेत गरेको छ ।

पार्टी भित्रको विवाद बारे आउँदो बैठकमा छलफल हुने पनि प्रबक्ता शर्माले बताए । ब‍ैठक पुन बिहीबार बस्ने छ ।