माओवादी उपाध्यक्ष बाबुराम भट्राईले पार्टीभित्र आन्तरिक जनवाद र लोकतान्त्रिक संस्कार कमजोर हुदै गएकाले शान्ति र संविधान जस्तो मुलभूत उपलब्धी गुम्ने खतरा रहेको बताएका छन् । ‘हावा जान दिएन भने प्रेसरकुकर फुटेजस्तै’ पार्टीभित्र पनि विचारको बहस हुन दिएन भने पार्टी फुट्न सक्ने तर्फ उनले सचेत गराए ।
‘पार्टीभित्र विचारको बहस गर्न खोज्दा, छलफल गर्न खोज्दा आतङ्क सिर्जना गर्ने र पार्टी फुटाउने हल्ला गर्नेहरुले नै पार्टी फुटाउन खोजेका छन्’, बुधवार चरिकोटमा सामुदायिक ‘हाम्रो रेडियो’को चौथो वार्षिकोत्सव एवं भवन उद्घाटन गर्दै उनले भने ।
‘आन्तरिक लोकतन्त्र नभएका पार्टीहरुले कसरी लोकतान्त्रिक संविधान बनाउन सक्छन् ?’आफ्नै पार्टीभित्रको आन्तरिक विवादतर्फ संकेत गर्दै डा.भट्टराईले भने । उनले आफ्नो विचार पार्टीभित्र निस्तेज पार्न खोजेको संकेत गर्दै भने-‘प्रेसर कुकुरमा भात पकाउँदा हावा जान पायो भने भात पनि पाक्छ,हावा पनि जान्छ । तर,हावा थुन्यो भने के हुन्छ?’पार्टीहरुको यस्तौ झगडाले संविधान निर्माण हुन नसकी प्राप्त उपलब्धी गुम्ने खतरा स्पष्ट रुपमा देखिन थालेको छ ।
पार्टीहरुको सत्तामुखी फोहरी खेलले पनि मुलुक संकटपूर्ण अवस्थामा पुर्याएको टिप्पणी गर्दै भट्राईले संविधान बनाउन छाडेर दल र नेताहरु प्रधानमन्त्री बन्ने कुर्सीको खेलमा अलमलिरहेका छौ।’राणाकालका प्रधानमन्त्रीको लस्करमा एउटा फोटा थप्ने खेल छाडेर शान्ति र संविधानमा केन्द्रित हुनु जरुरी छ’उनले भने।
शान्ति र संविधान निर्माणका लागि माओवादीले अगुवाई गरिरहेको उल्लेख गर्दै त्यसमा शंका नगर्न आग्रह पनि गरे।पहिला संविधानसभा नचाहने तत्वहरु संविधान बनाउन नदिन अनेक षडयन्त्र गरिरहेको उल्लेख गर्दै भने-‘संविधानसभा माओवादीले जन्माएको बच्चा हो । अरु त सुडेनी मात्र हुन् । तर अहिले संविधान नचाहनेहरु हर्ताकर्ता भएकाले शिशु संविधानसभाको गला रेट्ने प्रयास भएको छ।जनताले खबरदारी गर्नुपर्छ।’कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले विचारको बहस हुन छाडे कम्युनिष्ट पार्टी नै नरहने बताए ।
कार्यक्रममा रेडियोले स्थापना गरेको सक्रिय पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मण खड्कालाई प्रदान गरियो।रेडियोको संस्थागत विकासमा योगदान पुर्याउने इन्जिनियर महेन्द्रबहादुर कार्की, जग्गा उपलब्ध गराउने दोलखा मेलुङ्ग निवासी ७९ वर्षीया ललितादेवी कार्कीलगायतलाई सम्मान गरिएको थियो।



