काठमाडौं – चरम विवाद बढ्दै गएपछि पार्टी टुक्रिने सम्भावनालाई टार्न एकीकृत माओवादीका केही युवा, सभासद्हरूले बुधबार भेला आयोजना गरेका छन्। पार्टीमा अहिले देखिएको विवादले पार्टी विभाजनको दिशातिर जान लागेको निश्कर्ष सहित युवा समूहले दबाब दिन भेलाको आयोजना गरेको हो।
वानेश्वर स्थित ओमकार बिल्डिङको पाँचौं तलामा युवाहरूको पहलमा भेला भएको हो। ‘पार्टी एकढिक्का हुनुपर्छ भन्ने मान्यतामा भेला भएको हो। तर, हामी पनि पार्टीको प्रदुषणबाट मुक्त हुन सकेका छैनौं। भेलामा यो भेलाले कसलाई सहयोग गर्न खोजेको हो भन्ने जस्ता अभिव्यक्ति आए’, भेलाको नेतृत्व गरेका अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष लेखनाथ न्यौपानेले भने।
भेलामा कसलाई सहयोग गर्न लागेको हो भनि आशंका भए पनि छलफलपछि पार्टी फुटनु हुँदैन भनेर पार्टीलाई दबाब दिने सहमति भएको छ। केही दिनभित्र पार्टी नेतृत्वलाई भेट गरी पार्टी एकता हुनुपर्ने आफूहरू कसैको गुटमा नलाग्ने भनेर जानकारी गराउने निर्णय भेलाले गरेको छ।
भेला न्यौपानेको पहलमा भएको थियो। भेलामा ईश्वरचन्द्र ज्ञवाली, एकराज भण्डारी, हरिकला अधिकारी, सभासद् नरबहादुर विष्ट, शरदसिं भण्डारी, कल्पना धमला, शिवराम यादव अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्षद्वय युवराज चौलागाई, रामदीप आचार्य लगायत सहभागी थिए।
‘पार्टी बिभाजन भए न चुनाव जितिन्छ, न जनविद्रोह नै हुन्छ भन्ने कुरा नेताहरूलाई बुझाउँदै छौं’, न्यौपानेले भने- ‘यो नेतृत्वलाई सचेत पनि हो। फरक बिचार भए हुन्छन्। अल्पमतको सम्मान बहुमतको निर्णय मान्नुपर्छ भन्ने निश्कर्षमा पगेका छौं।’
पार्टीमा देखिएको तीन खेमाको विवाद अहिले मजदुर, हुँदै बुद्धिजीबीमा पुगेको छ। यो अवस्था पार्टीमा विवाद बढ्दै गए पार्टी फुटने अवस्था देखिएकाले युवा पंक्तिबाट व्यापक दबाब दिने उनले बताए।