काठमाडौ – अर्थमन्त्री भरतमोहन अधिकारी संसदको सार्वजनिक लेखा समितिमा अर्थ सचिव रामेश्वर खनालको राजीनामा प्रकरणबारे बिहीबार जवाफ दिन नगएपछि शुक्रबारको सम्मको लागि बैठक स्थगित भएको छ । अधिकारीले कार्य व्यस्तताको कारण आफू बैठकमा उपस्थित हुन नसक्ने जानकारी राजश्व सचिव मार्फत जानकारी गरएका थिए । बैठक बोलाइएको समयमा उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा व्यस्त थिए ।
अर्थमन्त्री बैठकमा नगएपछि समिति सभापति रामकृष्ण यादवले बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको घोषणा गरेका थिए । बैठकमा सभासदहरुले अर्थमन्त्रीले समितिको निर्देशन अटेर गरेको भन्दै अधिकारीको आलोचना गरेका थिए ।
कांग्रेस सभासद धनबहादुर गुरुङले संवेदनशील विषयमा छलफलका लागि बोलाइँदा समेत अगर्थमन्त्री अनुपस्थित रहनु आश्चार्य जनक भएको टिप्पणी गरे । संसदमा प्रतिपक्ष दलले प्रधानमन्त्रीबाट जवाफ मागिसकेको अवस्थामा समितिमा अर्थमन्त्री उपस्थित नहुनुले गम्भीर शंका पैदा भएको उनको भनाइ थियो ।
खनाललाई अर्थमन्त्री अधिकारीले राजीनामा दिन बाध्य पारेको समाचार सार्वजनिक भएपछि लेखा समितिले त्यसबारे बुझ्न उनी सहित मुख्य सचिव माधव घिमिरे र राजश्व सचिव कृष्णहरि बाँस्कोटालाई बैठकमा उपस्थित हुन भनेको थियो ।



