भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले १० गतेदेखि लिएको प्रवेशिका (एसएलसी) परीक्षा शुक्रबार सम्पन्न भएको छ। मुलुकभरबाट ४ लाख ९६ हजार २४३ जना सहभागी भएको परीक्षाको सैद्धान्तिक आजसम्म सञ्चालन भएको र आइतबार प्रयोगात्मक परीक्षा हुने परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले बताए। यस वर्ष नियम मिच्नेलाई कारबाही गर्न सकिएको बताउँदै उनले परीक्षा सहजरुपमा सम्पन्न भएको दाबी गरे।
परीक्षामा नियमिततर्फ छात्र दुई लाख २९ हजार ७९१ जना र छात्रा दुई लाख ६ हजार ६२० जना रहेका छन् भने एक्ज्याम्टेडतर्फ छात्र २५ हजार ८०५ जना, छात्रा ३४ हजार २७ जना सहभागी थिए।
परीक्षामा ८९ वटा खुल्ला विद्यालयका आठ हजार १४० जना जसमा छात्र चार हजार ५७८ र छात्रा ३ हजार ६६२ जना सहभागी थिए। खुल्ला विद्यालयमा नियमिततर्फ सात हजार ७९४ र एक्ज्यामटेडतर्फ ३४६ जना थिए।
सबैभन्दा कम मनाङमा १२२ जना र बढी काठमाडौँमा ३२ हजार ८६० विद्यार्थी परीक्षामा सहभागी थिए। परीक्षाको लागि मुलुकभर कुल एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो।
– रासस