संबैधानिक समितिको बैठक भइरहेकै बेला दलित जनजाति पार्टीका पासवानले हलबाट बाहिर कुर्ची फाले

काठमाडौँ – दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले संविधानको मस्यौदा तयार पार्ने मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक बसिरहेका बेला कुर्सी फालेको हिमालय टेलिभिजनले जनाएको छ। हिजो पनि समितिको बैठकमा विवाद भएपछि आज बिहानसम्मका लागि बैठक स्थगित गरिएको थियो।


आज पनि बैठकमा विवाद भएपछि समितिको बैठक बसिरहेको चौथो तल्लामा रहेको ३०४ नम्बरको कोठाबाट २४ नम्बरको कुर्सी फ्याँकिएको थियो।  चार तल्लामाथिबाट कुर्सी खसेर टुक्राटुक्रा भएपछि बल्ल माथि सञ्चारकर्मीहरुलाई प्रवेश नदिइ बसिरहेको बैठकमा विवाद भएको  त्यहाँ रहेकाले पत्तो पाएका थिए।


विवादपछि बैठक चैत २२ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ।


हिजोको बैठकमा साना दलका सभासदले राज्य पुनर्संरचना समितिको प्रतिवेदन च्यातेपछि स्थिति तनावपूर्ण बनेको थियो। ठूला दलका सभासदहरुले निर्धारित समयभन्दा बढी बोल्ने तर साना दलकाहरुलाई आफ्नो कुरा राख्न नदिएको आरोप लगाउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद् सदरुल मिया हकले राज्य पुनर्संरचनासम्बन्धी विषयगत समितिको प्रतिवेदन च्यातेका थिए।


स्थिति तनावपूर्ण भएपछि समितिका सभापति निलाम्बर आचार्यले आज बिहानसम्मका लागि बैठक स्थगित गरेका थिए।