माओवादीमा तीनवटा धार प्रष्टरुपमा देखा परे पनि पार्टी भने कुनै हालतमा नफुट्ने सीपी गजुरेलको दाबी

सिन्धुली  –  माओवादीमा तीनवटा धार प्रष्टरुपमा देखा परे पनि पार्टी भने कुनै हालतमा नफुट्ने माओवादी सचिव सीपी गजुरेलले दाबी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संघले धुराबजारमा शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गजुरेलले माओवादी पार्टी फुट्ने हल्ला मात्रै भएको भन्दै बाबुराम भट्टराईलाई बिष्फोट हुन नदिने वातावरण सिर्जना गर्ने बताए ।

बाबुराम भट्टराईतर्फ इंगित गर्दै प्रेसर कुकरको बिर्को खोल्न नदिए मात्र बिष्फोट हुने भएकाले बिर्को खोल्ने वातावरण बनाउन नेतृत्व तह लागि परेको सचिव गजुरेलले बताए । ‘माओवादी नेताले पार्टी फुटाउछौं भनेका छैनन्, उनले भने,’ पार्टी फुटाउने षड्यन्त्र मात्र भएको र त्यो आफुले नगरेको भन्नुलेनै पार्टी नफुट्ने पुष्टि हुन्छ ।’

भट्टराईले केही दिनअघि दोलखामा आयोजित कार्यक्रममा विचारको बहस रोके प्रेसर कुकर बन्द गर्दा विष्फोट भएजस्तै पार्टी पनि विष्फोट हुने बताएका थिए ।

तीनधारमा रहेको माओवादी मजदुर संगठन बिघटन गरेको उल्लेख गर्दै सचिव गजुरेलले स्थायी समितिको बैठकले एउटै केन्द्रीय सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको जानकारी दिए । त्यसको नेतृत्व केन्द्रीय नेताले गर्ने भनेपनि नाम भने उनले खुलाउन चाहेनन् ।

शनिबार उपत्यका बाहिर बस्ने माओवादी स्थायी समितिको बैठकले सरकारमा सामेल हुने मन्त्रीको नाम तय गर्ने भन्दै सचिव गजुरेलले तीनवटा धार देखा परेर केही विवाद माओवादीमा देखिएपनि समाधान गर्ने नसकिने खालको भने नरहेको बताए । मन्त्रिमण्डल बिस्तारमा एमालेमा जस्तो चर्को विवाद माओवादीमा नभएको सचिव गजुरेलको भनाइ थियो ।

उपाध्यक्ष वैद्य निकट गजुरेलले जनविद्रोह विकल्प मात्र भएको बताए । ‘संविधान नबनेर राष्ट्रपति शासन लागु भएमात्र जनविद्रोह माओवादीले गर्छ, उनले भने,’ जनताको सबै अधिकार खोसिएको बखत माओवादी हातमा दही जमाएर बस्दैन ।’

संविधानसभाको म्याद थप्ने पक्षमा माओवादी नरहेको भन्दै सचिव गजुरेलले काम गर्नै नभ्याउँदा ५ दिन सम्म सहमति थप्न सकिने धारणा राखे । उनले संविधानका मुल बिषय राज्य पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमत नभइ आउने संविधान कागजमा मात्रै सीमित हुने जनाए ।