भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पटकपटक संविधानसभाको समय थप गर्नु नाजायज भएको बताएका छन्। शारदा क्याम्पस भक्तपुरको २०औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै बिजुक्छेले संविधानसभाको म्याद थप गर्ने कुराको जनताले समेत आपत्ति जनाएका छन्।
ठूला तीन दलले निर्वाचनमा आफू प्रथम पार्टी हुन्छ भन्ने पूर्ण विश्वास नभएसम्मका लागि संविधानसभाको समय लम्ब्याउन खोजेको आरोपसमेत लगाए।
सरकारले पूर्णता नपाएको सन्दर्भ कोट्याउँदै उनले सरकारको साँचो माओवादीसँग हुनु तर सरकारको नेतृत्व एमालेले गरेकै कारण पूर्णता नपाएको हो भने। अध्यक्ष बिजुक्छेले जातजाति र भाषाको आधारमा राज्य विभाजन गरे मुलुक हिन्दुस्थान र पाकिस्तान हुने बताउँदै मुलुकमा जात, भाषा र धर्मको आधारमा सङ्घीय राज्य बनाए आन्तरिक युद्ध सुरु हुने बताए।
माओवादीले जातीयताको आधारमा सङ्घीय राज्य हुनुपर्ने माग राखेको र मधेसवादी दलले ५० प्रतिशत जनसङ्ख्या तराईमा रहेको दावी गर्दै सोहीअनुसार अधिकार पाउनुपर्ने माग गरेपछि संवैधानिक समितिमा विवाद चर्किएको उनले बताए।
क्याम्पसका प्राचार्य कृष्ण कुसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृति पुरस्कार प्रदान गरिएको थियो।
-रासस