महतले राज्यको स्थायी सरकारका रुपमा लिइने प्रशासनमाथि ठाडो आक्रमण भएको, आर्थिक विशृङ्खलता बढेको र सामान्य प्रशासन सिद्धान्तमाथि पनि अतिक्रमण हुन लागेको बताए।
उनले प्रधानमन्त्रीबाट विधिको शासनको प्रतिबद्धता आए पनि आपराधिक क्रियाकलाप, विकृति, औद्योगिक प्रतिष्ठानहरूमा आक्रमणजस्ता घटना नरोकिएको उल्लेख गरे।
अर्थसचिव खनालले सामान्य कारणले थाकेर राजीनामा दिएको होइन भन्दै डा. महतले भने- उनीमाथि गम्भीर मानसिक आघातसमेत परेको र पूरक बजेट ल्याउन अर्थमन्त्रीबाट ठाडो राजनीतिक हस्तक्षेप भएको रहेछ। उनले अर्थमन्त्रीबाट भएको यस्ता प्रकारका हस्तक्षेपले संसदको मानहानी र मर्यादामाथि समेत आक्रमण भएको आरोप लगाए।
नक्कली भ्याटबिललाई कानुनी ढङ्गले मिलाउनको लागि र कर छलि गर्नेहरूलाई धेरै जरिवाना नहोस् भन्नका लागि पूरक बजेटको कुरा आएको रहेछ। यो आर्थिक अपराधबाहेक केही होइन उनले भने।
महतले पूरक बजेट प्रतिपक्षीको सहमतिविना संसदमा ल्याउन पाइँदैन भन्दै यसका लागि राष्ट्रिय सहमति आवश्यक हुने बताए।
कङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले बीपी कोइराला क्यान्सर हस्पिटलमा भएको नियुक्ति र देशमा शान्तिसुरक्षा बहालीका लागि भइरहेको अवस्थाबारे जानकारी माग गर्दा पनि बेवास्ता गरिएको उल्लेख गर्दै देशको अर्थतन्त्र तहसनहस हुने गरी अरबौंको आर्थिक घोटला भएको आरोप लगाए।
उनले युनिटी इन्टरनेशनलले नेपालीलाई ठगी गरेकोमा कारबाही गर्नुको सट्टा पक्राउ परेकाहरूलाई छाड्न प्रधानमन्त्रीले आदेश दिएको आरोपसमेत लगाए।
उनले भ्याटछली गर्ने व्यापारी, कर नतिर्ने क्यासिनोहरूलाई छूट दिने प्रयत्न भएको आरोप लगाउँदै यस्ता विषयमा प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएसम्म संसदको कारबाही अगाडि बढ्न नसक्ने बताए।
यसैबीच अर्थमन्त्री भरतमोहन अधिकारीले बोल्नका लागि समय माग गर्दा प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सभासद्हरूले होहल्ला सुरु गरेका थिए। त्यसपछि सभामुख सुवास नेम्वाङले संसदको नियमावली बमोजिम नियमको पालना गर्न सांसदहरुसँग आग्रह गरेका थिए।
सभासद्हरू उठिरहेको अवस्थामा सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै सभामुख नेम्वाङले नियमबमोजिम कारबाही अगाडि बढाउनका लागि आसन ग्रहण गर्न आग्रह गरेका थिए।
त्यसपछि नेपाली कङ्ग्रेसका प्रमुख सचेतक घिमिरेले गृह, स्वास्थ्य र अर्थमन्त्रालयसँग सम्बन्धित कुराहरू प्रधानमन्त्रीबाट खोजिरहेका छौं भन्दै जवाफ नआएसम्म संसदको कारबाही अगाडि नबढ्ने बताए।
सभामुखले पटकपटक सभासद्लाई बस्न अनुरोध गर्दा पनि नेपाली कङ्ग्रेसका गोपालमान श्रेष्ठले यस्तो विशेष परिस्थितिमा पनि प्रधानमन्त्री हेलिकप्टर लिएर कार्यकर्ता भेट्न गएको भन्दै संसदको कारबाही अगाडि बढ्न नसक्ने बताए।
व्यवस्थापिका संसदको अर्को बैठक यही चैत २१ गते सोमबार दिनको ३ बजे बस्नेछ।
– रासस



