सुनसरी मोरङ तथा बारा पर्सा औधोगिक करिडोरमा आन्दोलनरत मजदुरहरुले चार दिनकालागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्। वन्द उद्योग सुचारु गर्ने विषयमा सरकार र मधेसबादी ट्रेड युनियनबीच भएको वार्तामा सरकारले तीनदिनभित्र मजदुरको समस्या समाधान गर्ने आश्वासन दिएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन्।
शुक्रवार अपरान्ह श्रम मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको सरकार तथा मजदुर प्रतिनिधी तथा ब्यवसायीले वताएका छन्। तोकिएको समयभन्दा ढिलो शुरु भएको बार्तामा सबैभन्दा पहिला बन्द उद्योग सुचारु गर्ने विषयमा छलफल भएको थियो। जसका कारण मजदुरहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम चार दिनकालागि स्थगित गरेका हुन्। आइतबार पुन त्रिपक्षीय बार्ता बस्ने सहमति भएको छ।
बिहिबार नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा सुनसरी मोरङ तथा बारा पर्सा औधोगिक करिडोर लगायतका उद्योगीहरु प्रधानमन्त्रीलाइ त्यस क्षेत्रका उद्योगको साँचो बुझाउन आएका थिए। प्रधानमन्त्री तथा श्रममन्त्रीले दुइ दिनभित्र वार्ताका माध्यमबाट समस्या समाधान गर्ने आश्वासन दिएपछि उद्योगीहरुले साँचो बुझाउने कार्यक्रम फिर्ता गरेका थिए।
सोही अनुरुप शुक्रबार रोजगारदाता, आन्दोलनरत मजदुर संगठन र सरकारबीचको वार्ता भएको हो।
वार्ताका क्रममा सरकारका तर्फबाट श्रममन्त्री तथा श्रम मन्त्रालयका पदाधिकारी, आन्दोलनरत चार मजदुर संगठनसहित आठवटा मजदुर संगठन र रोजगारदाताका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी सहभागी थिए। श्रममन्त्री टोपबहादूर रायमाझीले मजदूरका समस्याप्रति सरकार सकारात्मक रहेको भन्दै वार्ताका माध्यमबाट तीन दिनभित्र समस्याको समाधान गर्ने आश्वासन दिएपछि शुक्रबारको वार्ता सकारात्मक देखिएको हो।
यसअघि बिहिबार सरकारले सुनसरि मोरङ तथा बारा पर्सा औधोगिक करिडोर क्षेत्रका समस्या राजनितिक कारण उत्पन्न भएको भन्दै वार्ताका माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएको थियो।।