काठमाडौं – कङ्ग्रेस र मधेसवादी दलहरुलाई साथ नलिई दुई तिहाई बहुमतबाट संविधान जारी गराउने योजना उपयुक्त नभएको राष्ट्रपति डा. रामवरण यादवले बताएका छन्। उनले यसरी संविधान जारी गर्ने संवैधानिक व्यवस्था छ भन्दै तर पनि चार शक्तिबीच सहमति आवश्यक हुने बताए।
यसरी जारी भएको संविधानले मात्रै दिगो शान्ति स्थापना गर्छ भन्दै उनले त्यसैले दुई तिहाईभन्दा पनि सर्वस्वीकार्य संविधान जारी गर्नुपर्छ भने।
रिपोर्टर्स क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा देशभरबाट आएका शाखा पदाधिकारीको टोलीलाई राष्ट्रपति यादवले यस्तो बताएका क्लबले पठाएको वक्तव्यमा उल्लेख छ।
आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न जारी शान्ति प्रक्रिया र संविधान लेखन कार्यलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले त्यसका लागि मुलुकका प्रमुख चार राजनीतिक शक्तिबीच सहमति र सहकार्य हुनुपर्ने बताएका थिए।
‘संविधान बनाउन कम्तीमा चार राजनीतिक शक्ति एकीकृत नेकपा माओवादी, नेपाली कङ्ग्रेस, नेकपा एमाले र मधेसवादी दलबीच सहमति बनाएर अगाडि बढ्नुपर्छ, यस्तो भए समयमै संविधान बन्छ र दिगो शान्ति स्थापना गर्छ’- क्लबले राष्ट्रपतिलाई उदृत गर्दै भनेको छ।
राष्ट्रपति यादवले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई कुन अघि, पछि भन्दा पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएको पनि उसले जनाएको छ।