माओवादी सरकारमा पनि रहने र उसको सेना पनि कायम रहिरहने हो भने शान्ति प्रक्रिया बिथोलिन सक्ने एमाले चेतावनी

रुपन्देही – माओवादी सरकारमा पनि रहने र उसको सेना पनि कायम रहिरहने हो भने शान्ति प्रक्रिया बिथोलिन सक्ने चेतावनी एमाले महासचिव ईश्वर पोखरेलले दिएका छन् ।

नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ५ रुपन्देहीले शनिबार रुपन्देहीको रामापुरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै महासचिव पोखरेलले माओवादीको सरकार र विद्रोहीको भूमिकाले लोकतान्त्रिक संविधान पनि नबन्ने र देश जटीलतामा फस्ने दाबी गरे । व्यारेकमा सेना राखेर, हतियार मोह पालेर, घरजग्गा कब्जा गरेर, चन्दा आतंक कायम राखेर र जनता धम्काएर संविधान नबन्ने भन्दै उनले यो अवस्थालाई माओवादीले छोड्ने कि नछोड्ने यसको जवाफ दिनुपर्ने बताए ।

महासचिव पोखरेलले माओवादी एमालेको राजनीतिक सहयात्री भए पनि उसको कुनै पनि हिंसात्मक गतिविधि र दोहोरो सैन्य नीति स्वीकार नगर्ने दाबी गरे । माओवादीले आफ्ना चरित्र सुधार्ने र सहमति पालना गर्ने बाटोमा नलागे उसँगको राजनीतिक सहकार्य छोड्नेसमेत चेतावनी दिए ।