सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन माओवादी स्थायी समितिको बैठक फेरी विफल

– सरकारमा पठाउने थप मन्त्रीबारे टुंगो लगाउने लगायतका विषयमा केन्द्रित माओवादी स्थायी समितिको बैठकले त्यो जिम्मा पदाधिकारीहरुलाई सुम्पेको छ।


सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन एकिकृत नेकपा माओवादी स्थायी समितिको बैठक फेरी विफल भएको छ।

केही दिन काठमाडौंमा बैठक गरेपछि माओवादी स्थाई समितिका सदस्यहरु आइतवार सिन्धुपाल्चोकतर्फ गएका थिए।


त्यहाँको एउटा रिसोर्टमा भएको दुई दिन लामो मन्थनपछि पनि बैठकले थप मन्त्रीको टुंगो लगाउन सकेन।


मन्त्री छान्ने जिम्मा पदाधिकारीहरुलाई सुम्पेको बताउँदै सचिव सीपी गजुरेलले भने, “एक दुई दिनभित्रै पदाधिकारी बैठकले थप मन्त्री छान्ने छ।”

तर नेतृत्वले नै महसुस गर्ने गरी पार्टीमा उत्पन्न निकै गम्भीर असमझदारीको अन्त्य गर्न बैठक सफल भएको उनको भनाई छ।


गजुरेलले भने, “पार्टी फुट्न लागेको भन्ने चर्चालाई लिएर पार्टीभित्र र बाहिर जुन भ्रम थियो त्यो हटाउँदै पार्टी थप एकतावद्ध भएको घोषणा गरेका छौं।”


संविधानसभाको म्याद सकिन लाग्दा समेत शान्ति प्रकृया र संविधान लेखन टुंगिने भरपर्दो आधार नदेखिएका बेला भएको माओवादी बैठकलाई धेरैले महत्वका साथ हेरेका थिए।


तर त्यसबारे कुनै नयाँ निर्णय नगरिएको माओवादीले जनाएका छन्।