एमालेको भागमा बाँकी पाँच मन्त्री र पाँच राज्यमन्त्रीका लागि तीन प्रमुख नेताहरूद्वारा झन्डै दुई दर्जन नाम प्रस्ताव

काठमाडौं –  एमाले स्थायी समितिको आइतबारको बैठकमा प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले छुट्टाछुट्टै व्यक्तिलाई प्रस्ताव गरेपछि मन्त्रीमा कसलाई पठाउने भन्ने अन्तिम टुंगो लाग्न सकेन ।

 

एमालेको भागमा बाँकी पाँच मन्त्री र पाँच राज्यमन्त्रीका लागि तीन प्रमुख नेताले झन्डै दुई दर्जन नाम अघि सारेका छन् ।

 

स्थायी समितिले प्रस्तावित नामहरूमा प्रधानमन्त्रीले आपसी परामर्श गरी टुंगो लगाउने जिम्मेवारी दिएको छ । ‘दुई दर्जनजतिको नाम आएको छ, प्रधानमन्त्रीले आपसी परामर्श गरेर टुंग्याउने निर्णय भएको छ,’ बैठकपछि सचिव शंकर पोखरेलले भने ।

 

प्रधानमन्त्री खनालले मन्त्रीका लागि भानुभक्त जैसी, गोकर्ण बिष्ट, रघुवीर महासेठ, उर्मिला अर्याल र युवराज कार्कीलाई प्रस्ताव गरेका छन् । उनले राज्यमन्त्रीहरूमा दलबहादुर राना, दलबहादुर सुनार, रामजीप्रसाद शर्मा, महमुद आलम र डम्बरसिंह सम्बाहाम्फेको नाम अघि सारेका छन् । प्रधानमन्त्रीले प्रस्ताव गरेकामध्ये जैसी, महासेठ, कार्की, सुनार, शर्मा र सम्बाहाम्फे सभासद हुन् ।

 

स्थायी समिति सदस्य केपी ओलीले खगराज अधिकारी, थममाया थापामगर, नागेन्द्र चौधरी, विजय सुब्बा र धर्मनाथप्रसाद साहको नाम प्रस्ताव गरेका छन् । जगत विश्वकर्माको नाम अघि सारे पनि राज्यमन्त्रीका लागि कसलाई पठाउने भन्नेमा ओलीले खासै जोड नदिएको स्रोतले बतायो । ओलीले प्रस्ताव गरेकामध्ये थापामगर एक जना मात्र सभासद हुन् । 

 

वरिष्ठ नेता माधवकुमार नेपालले महेन्द्र पाण्डे, कृष्णप्रसाद सापकोटा र सरला यादवको नाम प्रस्ताव गरेका थिए । सापकोटा र यादव सभासद हुन् । पार्टीभित्रको आन्तरिक सन्तुलन र भौगोलिक तथा जातीय प्रतिनिधित्व मिलाउनुपर्ने भएकाले मन्त्री छान्न एमालेमा समस्या परेको हो । एमालेको भागमा आठ मन्त्रालय परेकामा स्थायी समिति सदस्य भरतमोहन अधिकारी, सचिव विष्णु पौडेल र गंगालाल तुलाधर यसअघि नै मन्त्री भइसकेका छन् ।

 

अब पाँच मन्त्री र बढीमा पाँच राज्यमन्त्री पार्टीको भागमा छ । मन्त्री छनोट हुन नसक्दा गठन भएको दुई महिना भइसक्दा पनि सरकारले पूर्णता पाएको छैन । यसैबीच स्थायी समिति बैठकले वैशाख १४ गते केन्द्रीय समिति बैठक गर्ने मिति तय गरेको छ ।

 

प्रस्तावित नामहरू-

खनालको सूची

भानुभक्त जैसी

नरेश खरेल

रघुवीर महासेठ

उर्मिला अर्याल

गोकर्ण बिष्ट

युवराज कार्की

दलबहादुर सुनार

दलबहादुर राना

रामजीप्रसाद शर्मा

महमुद आलम

डम्बरसिंह सम्बाहाम्फे

नेपालको सूची

महेन्द्र पाण्डे

कृष्णप्रसाद सापकोटा

सरला यादव

ओलीको सूची

खगराज अधिकारी

थममाया थापामगर

नागेन्द्र चौधरी

विजय सुब्बा

धर्मनाथप्रसाद साह

जगत विश्वकर्मा