चैत्र २२, काठमाडौं – युनुस अन्सारीलाई गोली हान्ने भारतीय नागरिक मनमित सिंहलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उनलाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । यसैगरी मनमितले ज्यान मार्ने उद्योग गरेको मुद्धाको प्रस्तावित राय सहितको अनुसन्धान प्रतिवेदन मंगलबार नै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
प्रतिवेदनमा मनमितसँगै पाँच भारतीय नागरिक, चाल्स शोभराज र अमर टन्डनविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा चलाउन सुझाव दिइएको छ ।
कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा ज्यान उद्योगको मुद्धा दर्ता गर्नेछ । मनमितले नक्कली भारुको केन्द्रीय कारोबारमा केन्द्रीय कारागारमा थुनामा रहेका अन्सारीलाई फागुन २६ गते गोली प्रहार गरेका थिए । घटना लगतै पक्राउ परेका मनमितबाट प्रहरीले जर्मन रिभल्वर बरामद गरेको थियो ।



