संविधान निर्माणको ९० प्रतिशत काम सकिएको मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको दावी

मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक, कम्युनिष्ट र मधेशवादी शक्तिहरुको आपसी सहयोग, सहकार्य र सन्तुलन कायम राख्न सकिए घोषित समयमै नयाँ संविधान आउने बताएका छन् ।


सिरहाको लहानमा बिहीबार बिहान रिपोर्टर्स क्लव सिरहा शाखाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधान निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भईसकेको अवस्थामा शासकीय स्वरुप र राज्य पुनः संरचनाको विषय मात्र बाँकी रहेको रहेको दावी गरे ।


‘यि विवादहरु समाधान गर्न सकिए आगामी जेष्ठ १४ गतेभित्रै नयाँ संविधान जारी गर्न सकिन्छ’ उनले भने । उनले धर्म निरपेक्षता, संघीयता, गणतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रताको सुनिश्चितता सहितको संविधानका लागि कसैसँग कुनै सम्झौता हुन नसक्ने उल्लेख गरे ।


संघीयता, धर्म निरपेक्षता विरोधी शक्तिहरु अहिले पनि नयाँ संविधान विरुद्ध विभिन्न ढङ्गले षडयन्त्र गरिरहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यसको विरुद्ध आफ्नो पार्टी, एमाले र माओवादी बीच भएको चार बुँदे सहमति कार्यान्वयन हुनेमा आफ्नो पार्टी आशावादी रहेको बताए ।