मन्त्रिपरिषद्का विविध निर्णय सार्वजनिक /बैशाख २० गते पूर्ण बजेट ल्याउने सरकारको निर्णय

सरकारले आउदो बैशाख २० गते नै पूर्ण आकारको बजेट ल्याउने औपचारिक निर्णय गरेको छ । पूरक बजेट ल्याउने तयारी गरिरहेको सरकारले ब्यापक दवावपछि बैशाखमै पूर्ण बजेट ल्याउन लागेको हो ।


बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २० गते नै पूर्ण आकारको बजेट ल्याउने निर्णय गरेको हो । यसअघि बजेट असार मसान्तमा आर्थिक बर्ष फेरिनु अघि ल्याउने गरिन्थ्यो ।


सत्ता साझेदार माओवादीको दवावमा अर्थ मन्त्रालयले पूरक बजेट ल्याउने तयारी गरेपछि अर्थ सचिव रामेश्वर खनालले त्यसमा असहमति जनाउँदै राजिनामा दिएका थिए । उनको राजिनामापछि बढेको दवावका कारण सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेको हो ।


त्यसैगरी सरकारले भारत र विश्व बैंकसंग सहुलीयत ऋण र यूरोपीयन युनियनसंग अनुदान सहयोग लिने निर्णय पनि गरेको छ । विभिन्न पूर्वाधार विकास परियोजनाहरुको लागि भारत सरकारले दिन लागेको १७ अरव ऋण सहयोग लिने सरकारले निर्णय गरेको हो । उक्त ऋण २० बर्षका लागि १ दशमलव ७५ रुपैयाँ ब्याजदरमा प्राप्त हुनेछ ।


त्यसैगरी विश्व बैंकले पाँचथरको कावेलीमा निर्माण भइरहेको जलविद्युत परियोजनाबाट उत्पादन हुने विजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्नको लागि झापासम्म बनाउने ट्रान्समिसन लाईनको लागि दिन लागेको ऋण र युरोपीयन युनियनले शान्ति तथा पुननिर्माणका लागि दिन लागेको २ अरव रुपैयाँ अनुदान सहयोग लिने निर्णय गरेको छ ।


स्वास्थ्य सचिव सुधा शर्मालाई राष्ट्र संघको ‘सानिटेशन एण्ड वाटर फर अल’ को स्टेरिङ्क कमिटीमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।


फौजदारी कानुनमा सुधारका लागि सर्वोच्च अदालतका न्यायाधीस कल्याण श्रेष्ठको अध्यक्षतामा उच्चस्तरिय कार्यदल गठन गरेको छ । त्यसको सदस्मा महान्यायाधिबक्ता युवराज संग्रौला र कानुन सचिव माधव पौडेल रहेका छन् ।


त्यस्तै विशाल बजार कम्पनीको सरकारी जग्गा शेयरको रुपमा रुपान्तरण गर्नका लागि प्रकृया अगाडी बढाउने निर्णय गरेको छ । नेशनल ट्रेडिङका महाप्रबन्ध लक्ष्मण अग्रवालको राजिनामा स्वीकृत गरेको छ भने नेपाल टेलीभिजनको कामु महाप्रबन्धकमा दिपकमणी धिताल नियुक्त भएका छन् ।


१३ औं दक्षिण एशियाली खेल सन् २०१४ मा आयोजना गर्नका लागि आवश्यक सबै प्रकारको तयारी गर्न सरकारले खेलकुद मन्त्रालयलाई जिम्मा दिएको छ।