यौनजन्य हिंसा बढे पनि उजुरी भनै एउटै पनि नपरेको महिला आयोगको भनाइ

महिलाविरुद्ध हुने यौनजन्य हिंसामा व्यापक वृद्धि भएका घटना सार्वजनिक भए पनि न्यायका लागि आउने क्रम भने सून्य नै छ। राष्ट्रिय महिला आयोगले तयार पारेको अर्धवार्षिक प्रतिवेदनले यौनजन्य हिंसासम्बन्धी कुनै पनि उजुरी नआएको जनाएको छ।


गत साउनदेखि पुससम्म आयोगमा आएका घरेलु हिंसासम्बन्धी ६८ वटा उजुरीमा एउटा पनि यौनजन्य हिंसाका उजुरी परेका छैनन्।


आयोगका अनुसार सो अवधिमा शारीरिक हिंसाका १७, मानसिक हिंसाका २४ र आर्थिक हिंसाका २७ गरी ६८ वटा उजुरी आयोगलाई प्राप्त भएका थिए।


करिब तीन वर्षअघि ल्याइएको घरेलु हिंसा (सजाय तथा कसुर) ऐनले यौनजन्य हिंसाका साथै शारीरिक, मानसिक र आर्थिक हिंसालाई घरेलु हिंसाभित्र समेटेको छ।


ऐनले समेटे पनि सो कार्य गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरे पनि मलाई यौनजन्य हिंसा भयो भनेर कोही पनि आयोगमा नआएको आयोगका कानुन विशेषज्ञ सरज थापा बनाउँछन्। 


उनका अनुसार परिवारमा यौनजन्य हिंसा भए पनि पारिवारिक प्रतिष्ठाका कारण न्यायका लागि आउने गरेको देखिँदैन। – रासस