शक्तिशाली मन्त्रालयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको उपेन्द्र यादवको दावी

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता साझेदार नेकपा एमाले र एकिकृत माओवादीबीच शक्तिशाली मन्त्रालयमा भागबण्डा नमिलेकाले मन्त्रिमण्डल विस्तार हुन नसकेको बताएका छन्।


सरकारमा सामेल हुन सहमतिमा हस्ताक्षर गरिसकेका फोरम अध्यक्ष यादवले सत्तासाझेदार दुई ठूला दलबीच शक्तिशाली मन्त्रालय भागबण्डामा देखिएको असहमतिले सरकारले पूर्णता पाउन नसकेको आरोप लगाए।


विराटनगरस्थित निवासमा बुधबार सञ्चारकर्मीसित यादवले भने- शक्तिशाली मन्त्रालयको खिचातानीमा एमाले र माओवादी रुमलिएकाले मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। उनले एमाले र माओवादीबीच मन्त्रालयको कुरा नमिलेकाले नै फोरमलाई सरकारमा सामेल हुन ढिलाई भएको बताए।


नेता यादवले एमाले र माओवादीबीचको अन्तरविवाद चरममा पुग्न लागेकाले वैशाखको पहिलो सातासम्ममा मात्रै सरकारले पूर्णता पाउने आश गरे। अन्य राजनीतिक दललाई सत्तामा सहभागी गराउनका लागि वातावरण सिर्जना गर्न माओवादी, एमाले र फोरमबीच प्लेटफर्म बनाउनुपर्ने उनको भनाई छ।


मुलुकमा रहेको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि मधेसवादी शक्ति, प्रजातान्त्रिक शक्ति र गणतान्त्रिक शक्तिबीच सहमति अपरिहार्य रहेको उनले बताए। उनले तीन प्रमुख राजनीतिक शक्तिमध्ये कुनै एकलाई उपेक्षा गरेर संविधान निर्माण गरे सो संविधान बेकम्मा हुने दावीसमेत गरे।