पर्यटन प्रवर्द्धन तथा पर्यटन वर्ष २०११ को प्रचारप्रसार गर्ने भन्दै सरकारले तीन करोड खर्चेर कर्मचारीलाई सगरमाथा आरोहण गर्न पठाएको छ।
काठमाडौंबाट बिहीबार बिहान हेलिकोप्टर मार्फत लुक्ला पुगेको १५ जना कर्मचारी सम्मिलित टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लिलामणि पौडेलले गरेका छन् । टोली ६० देखि ७५ दिनसम्म सगरमाथा आधार शिवरिमा बस्ने पर्यटन मन्त्रालयका उपसचिव बाबुराम भण्डारीले जानकारी दिए।
सगरमाथाको प्रचारप्रसार गरी पर्यटन वर्षप्रति विदेशी पर्यटकको ध्यानाकृष्ट गराउने उद्येस्यले सरकारले तीन करोड खर्च गर्ने गरी कर्मचारीलाई आरोहणमा पठाएको उपसचिव भण्डारीले बताए।
उनका अनुसार टोलीले त्यहाँ रहँदा विश्वव्यापी जलवायु परिवर्तनको असर, सगरमाथामा आधार शिविरको फोहोर व्यवस्थापन विधि लगायत विषयमा अध्ययन गर्नेछ।
यस्तै सगरमाथा आरोहणमा आएका विदेशी पर्यटकहरुसित नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकारी स्तरबाट के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्ने बताईएको छ।