इटहरी – थरुहट स्वायत्त राज्य परिषद्ले अनिश्चितकालीन बन्दको आह्वान गरेको छ। तराईका आदिवासी थारु समुदायको हुर्मत लिने उद्देश्य राखेर मधेसी जनअधिकार फोरम उपेन्द्र यादव समूह, प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको चारबुँदे सहमतिविरुद्ध सो बन्द आह्वान गरिएको हो।
थरुहट स्वायत्त परिषद्ले आज साँझ सुनसरीको इटहरीमा मसाल जुलुस प्रदर्शन गरेको थियो।
सो जुलुसले इटहरी नगरको मुख्यमुख्य स्थानको परिक्रमा गरी थारु समुदायका पूजाथानमा पुगेर समापन गरिएको थियो।
वर्तमान सरकार र फोरम बीच भएको चारबुँदे सहमतिको पूर्ण खारेजी, कमैयाहरूलाई पैसा दिने निर्णय तत्काल खारेज गरिनुपर्नेलगायतका माग राखेर थरुहट स्वायत्त राज्य परिषद्ले चैत १० गतेदेखि नै चरणवद्ध आन्दोलन गर्दै आएको छ। रासस



