पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेद्वारा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसंग नयाँदिल्लीमा भेट

नयाँदिल्ली  – रमेशनाथ पाण्डेले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसंग शुक्रवार यहाँ भेटेका छन् ।

पूर्व परराष्ट्रमन्त्री  पाण्डेका अनुसार, भेटमा मेननले नेपालमा संक्रमणकाल लम्बिदैं गएको तथा राजनीतिक अन्योलता गहिरिदैं गएको भन्दै चिन्ता जाहेर गरेका थिए । आपसरी समझदारी र सामूहिक ज्ञानका साथ नेपाल अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै उनले भारत नेपालको इमान्दार मित्र भएको पनि उल्लेख गरे ।

‘नेपालको स्थायित्व र समुन्नतिमा भारतीय रुची मैले पाए । कसैप्रति बायस भएको मैले पाइन,’ भेटपछि पाण्डेले  भने । करिब एक घण्टा लामो भेटमा मेननले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पाण्डेको धारणा सुनेका थिए ।

पाण्डेले आपसी विश्वास वृद्धि गर्दै दुई मुलुकबीच नमूना सम्बन्ध बनाउन सकिने मेननलाई बताएका थिए । शुक्रवार बिहान नयाँ दिल्ली आइपुगेका पाण्डे शनिवार बिहान काठमाण्डौं फर्कदैं छन् ।