धनगढी – थारुहट स्वायत्त राज्य परिषद्ले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दले कैलालीको जनजीवन प्रभावित बनेको छ। बन्दले यातायात, पसल, उद्योग, शिक्षण संस्था, कलकारखाना बन्द भएका छन्। धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्। यसरी सवारी नचल्नाले विभिन्न ठाउँ जाने सयौं यात्रु अलपत्र परेका छन्।
कैलालीको मुख्य व्यापारिक केन्द्र धनगढी, टीकापुर, अत्तरिया, लम्की, सुख्खडलगायतका बजार बन्द छन्। सवारी साधन नचलेकाले राजमार्गलगायतका सडक सुनसान बनेका छन्। शिक्षण संस्था बन्द छन्।
यातायात बन्द हुनाले भारतका विभिन्न ठाउँबाट नयाँ वर्षका लागि घर आएका सयौं जना धनगढी बसपार्कमा अलपत्र परेका छन्।
चैत पहिलो साता प्रधान मन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भएको ४ बुँदे सहमतिको विरोध गर्दै अनिश्चितकालीन तराई बन्द गरिएको थारुवट स्वायत्त राज्य परिषदका केन्द्रीय सदस्य भानुराम चौधरीले बताए।