काठमाडौं – शुक्रवारबाट आहृवान गरेको अनिश्चितकालीन थरुहट बन्द थरुहट स्वायत्त राज्य परिषदले बैशाख ३ गतेसम्मको लागि स्थगित गरेको छ ।
बन्दकै समयमा नेपाली हिन्दुहरुको चाड चैते दशैं र नयाँ वर्ष परेकोले उनीहरुलाई पर्ने कठिनाइलाई मध्यनजर गर्दै आन्दोलन तत्कालको लागि स्थगित गरिएको अध्यक्ष लक्ष्मण थारुले जानकारी दिए । बैशाख ३ गते बर्दियामा थरुहट राष्ट्रिय भेलाको आयोजना गरेर निर्णायक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
सरकारले थरुहट स्वायत्त राज्य परिषद्सँग गरेको सम्झौता विपरीत मधेसी जनअधिकार फोरमसँग गरेको सहमतिमा ‘मधेस’ शब्द उल्लेख गरिएकोमा आपत्ति जनाउँदै परिषदले बन्द आहृवान गरेको थियो । बन्दकाका कारण तराईका जिल्लाहरु प्रभावित थिए ।
तराईलाई एक प्रदेश बनाउने सहमति गरेको बिरोधमा परिषद्ले शुक्रबारदेखि आह्वान गरेको आमहड्तालका कारण शनिबार पनि दाङको जनजीवन प्रभावित भएको छ । परिषद्ले दाङ लगाएत पश्चिम तराइका सबै जिल्लामा बन्दको आह्वान गरेको छ । चैत्र ९ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलाथन खनाल र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच भएको चार बुँदे सहमतिले तराईलाई मधेस बनाउने षड्यन्त्र गरेको भनदै अनिश्चितकालीन बन्दको आहृवान गरिएको थियो ।
हड्तालका कारण तराईको यातायात क्षेत्र, बजार तथा कलकारखाना ठप्प हुँदा जनजीवन प्रभावित थियो ।



