सत्ताको लडाइँ: माओवादीभित्र सरकारमा को जाने भन्ने खिचलो झन्-झन् चर्किंदै

काठमाडौ  – एकीकृत नेकपा माओवादीभित्र सरकारमा को जाने भन्ने खिचलो झन्-झन् चर्किंदै गएको छ । एउटै कार्यदिशामा सहमत भएका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच गृह मन्त्रालय कसलाई दिने भन्नेमा चर्को विवाद भएपछि स्थायी समितिबाट यो विवाद पोलिटब्युरोसम्म पुगेको छ ।

स्थायी समिति बैठकले गृहलगायत अन्य मन्त्रालयको विवाद मिलाउन पटक-पटक गरेका प्रयास संंस्थापन पक्षभित्रकै किचलोका कारण असफल भएको थियो । अब त्यो विवाद समाधान गर्न पोलिटब्युरोमा लैजाने निर्णय शनिबार बसेको पदाधिकारी बैठकले गरेको छ । पोलिटब्युरो वैशाख ७ गते बोलाइएको छ ।

दाहालले मन्त्रालय बाँडफाँडमा वैद्य पक्षको अडानले आफूलाई असहयोग गरेको महसुस गरेको उनीनिकट एक नेताले बताए । ‘आफ्नै बलबुतामा बनाएको सरकारमा पठाउने मन्त्रीबारे पार्टीभित्रै लामो विवाद हुनु अस्वाभाविक छ,’ ती नेताले भने, ‘एउटै विचार समूहका नेताबाट यस्तो अपि्रय अडान आउनु एक प्रकारले असहयोग गर्नु हो ।’ बिहीबार स्थायी समिति बैठकमा महासचिव रामबहादुर थापाले एउटै विचार समूहबीच मन्त्रालय विवाद हुनु ठीक नभएको बताएका थिए । ‘एउटै विचार समूहबीच मन्त्रालयका विषयमा किन विवाद भइरहेको छ ?’ उनको प्रश्न थियो, ‘यो झगडा केका लागि भइरहेको छ ? यो ठीक भएन ।’ उनले सरकारमा जाने बेला पनि सचिव सीपी गजुरेलले नेतृत्व गर्ने कि स्थायी समिति सदस्य कृष्णबहादुर महराले भन्ने विवाद भएको प्रसंग कोट्टयाउँदै हाल आएर वर्षमान पुन कि देव गुरुङ गृहमन्त्री हुने विवाद आउनुको कारण खोजेका थिए ।

गुरुङ र पुनको नाममा विवाद भएपछि उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर स्थायी समिति सदस्य दीनानाथ शर्माले गृहमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरी गुरुङलाई सूचना तथा सञ्चार दिनुपर्ने बताएका थिए ।

बैठकमा वैद्यले स्थायी समितिले पहिले नै गुरुङलाई गृहमा पठाउने निर्णय गरेको भन्दै अडान राखेका थिए । उक्त अडानपछि शान्ति तथा पुनर्निमाण मन्त्रीसमेत रहेका पुनले आफूले गृहमात्र होइन, हाल सम्हालेको मन्त्रालयसमेत त्याग गर्न तयार रहेको बताएका थिए । ‘गुरुङदाइ गृहमा जानुहुन्छ भने म शान्तिमन्त्रीसमेत त्याग गरी पार्टी संगठनको काम गर्न तयार छु,’ उनको भनाइ थियो ।

 वैद्य पक्षले ‘जनविद्रोहको चर्को कुरा गरेर गृह नै चाहिन्छ’ भन्नु आश्चर्यजनक भएको दाहाल पक्षको बुझाइ छ । ‘जनविद्रोहको चर्को कुरा गर्ने अनि गृह नै चाहिन्छ भन्नु आश्चर्यजनक छ,’ दाहालनिकट एक नेताले भने, ‘आखिर सत्तामोह दह्रै रहेछ भन्ने देखिएको छ ।’ वैद्य पक्षले गृहमात्र मागेको छैन, पार्टीले पाएका सातमध्ये चार मन्त्रालय आफ्नो पक्षलाई दिनुपर्ने दबाब अध्यक्ष दाहाललाई दिएको छ ।

पछिल्ला स्थायी समिति बैठकमा अधिकांश समय मन्त्रालय बाँडफाँड विवादमै बित्ने गरेको छ । शनिबार भएको पदाधिकारी बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्री चयनलगायत अन्य विषय टुंग्याउन पोलिटब्युरो बैठक बोलाइएको जानकारी दिए ।

 ‘मन्त्रिमण्डलको कुरा मात्र होइन, शान्ति र संविधानका विषयमा छलफल गर्न पोलिटब्युरो बोलाइएको हो,’ उनले भने ।