माओवादीले जेठ १४ पछि उत्पन्न हुने राजनीतिक परिस्थितिलाई लिएर रणनीति बनाउने

काठमाडौं  – माओवादीले जेठ १४ पछि उत्पन्न हुने राजनीतिक परिस्थितिलाई लिएर रणनीति बनाउने भएको छ ।

जेठ १४ भित्र संविधान निर्माण हुन कठिन देखिएकाले माओवादीले बुधबार पोलिटब्युरो बैठक गरी त्यसपछि उत्पन्न हुने सक्ने स्थितिमा कसरी अघि बढ्ने भनी रणनीति तय गर्न लागेको हो ।

‘जेठ १४ आउनै लागेकाले पोलिटब्युरो बैठकबाट कार्यक्रम बनाउन लागिएको हो,’ केन्द्रीय कार्यालय मुख्यसचिव एवं पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले भने, ‘मन्त्री चयनको विषय पनि सँगै हल हुनेछ ।’

संविधानसभाको म्याद थप्ने/नथप्ने विषयमा चर्चा सुरु भइरहेका बेला माओवादीले पनि त्यसको तयारी थालेको हो । संविधान बनाउने म्याद हुँदासम्म माओवादीले शान्ति र संविधानका लागि अधिकतम प्रयास गर्ने जानकारी बस्नेतले दिए ।

संविधानसभा विघटन गर्ने प्रयास भए माओवादीले प्रतिवाद गर्ने उनले बताए । ‘जबर्जस्ती संविधानसभाको म्याद विघटन गरिए पार्टीले त्यसको प्रतिवाद गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘माओवादी दुई/तीनवटा विकल्प अघि सारेर बढ्ने छ ।’

स्थायी समिति बैठकमा भएको पार्टीबाट गृहमन्त्री को हुने र को/को मन्त्री हुने विवादलाई पनि उक्त पोलिटब्युरो बैठकबाटै टुंग्याउने निर्णय पनि शनिबार केन्द्रीय पदाधिकारीको बैठकले गरेको थियो ।