भुटानका प्रधान मन्त्री जिग्मी वाइ ठिन्लेले नेपालमा रहेका भुटानी शरणार्थीबारे राखेका धारणाप्रति भुटान पिपल्स पार्टीले आपत्ति

काठमाडौं – नेपाल भ्रमणका क्रममा भुटानका प्रधान मन्त्री जिग्मी वाइ ठिन्लेले नेपालमा रहेका भुटानी शरणार्थीबारे राखेका धारणाप्रति भुटान पिपल्स पार्टीले आपत्ति जनाएको छ। उनको भनाइले भुटान आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहँदैन भन्ने स्पष्ट भएको पनि पार्टीले दाबी गरेको छ। ठिन्लेले ‘उनीहरु आर्थिक, सामाजिक र राजनीतिक शरणार्थी हुन् भन्दै भुटानी हुन, होइनन् छानबिन गरिनुपर्छ’ भनेका थिए। उनको यो अभिव्यक्तिप्रति भुटान पिपल्स पार्टी घोर निन्दा एवम् आपत्ति प्रकट गर्दछ- पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुई दशकअघि मातृभूमिबाट भुटानी नागरिकलाई जबर्जस्त लखेट्ने षड्यन्त्रका सूत्रधार रहेका ठिन्लेले काठमाडौंमा आएर दिएको त्यस्तो अभिव्यक्ति भुटानीहरुलाई दुई दशकदेखि शरण दिँदै आएको देश नेपाल र राष्ट्रसङ्घीय दातृनिकायहरुप्रति ठाडो चुनौतीका रुपमा आएको छ पनि उसले जनाएको छ। भुटानी शासकको दमन, गैरन्यायिक हत्याजस्ता अत्यन्तै अमानवीय क्रियाकलापका कारण नागरिकहरु खेदिएको विषय घामजत्तिकै विश्वसामु छर्लंग रहेकोमा निरंकुशताका पृष्ठपोषक ठिन्लेले भुटानी नागरिकको हैसियतमाथि प्रश्‍न उठाएर भुटानी प्रजातन्त्रको असली रुपको उजागर गरेका तथा उनको यस्तो कायरतापूर्ण अभिव्यक्तिको जति भर्त्सर्ना गरे पनि कम हुने उसको विज्ञप्तिमा छ।

भुटान पिपल्स पार्टी पूर्वी नेपालमा शरण लिएर बसेका भुटानी शरणार्थीहरुमध्ये एक जना पनि गैरनागरिक भएको पुष्टि गरेर देखाउन ठिन्लेलगायत् भुटानी शासकलाई खुल्ला चुनौती दिन चाहन्छ भन्दै पार्टीले भनेको छ- देशभक्त भुटानी नागरिकहरुलाई खुल्लारुपमा अनागरिक घोषणा गर्ने ठिन्लेको यसप्रकारको अभिव्यक्तिले भुटान तत्काल वार्ताद्वारा आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहँदैन भन्ने स्पष्ट भएको छ। सँगसँगै शरणार्थी फिर्ताको विषयमा तेस्रो पक्षका रुपमा भारतको भूमिका आवश्यक रहेको हाम्रो तर्कसमेत सही हुन आएको पुष्टि भएको छ।

अध्यक्ष बलराम पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ- माथि उल्लिखित पृष्ठभूमिका आधारमा भुटान, भारत, नेपाल र निर्वासित राजनीतिक दलका नेतृत्वबीच संयुक्त वार्ताका लागि प्रयास थालेर शरणार्थीहरु फिर्ता र भुटानभित्रको प्रजातन्त्र एवम् मानवअधिकार बहालीका लागि सकारात्मक भूमिका निर्वाह गरिदिन हामी नेपाल सरकारसमक्ष हार्दिक आग्रह गर्दछौँ। साथै शरणार्थी समस्याको दीर्घकालीन समाधानार्थ शरणार्थीसम्बन्धी नीति, नियम, अध्ययन र आवश्यक कूटनीतिक पहल गर्ने व्यवस्थासहितको एउटा स्थायी कार्यदल तत्काल गठन गर्नसमेत नेपाल सरकारसमक्ष अनुरोध गर्दछौँ।

भुटान पिपल्स पार्टीको मान्यता यो छ कि शरणार्थी मुद्दा केबल शरणार्थी समस्या मात्रै नभएर भुटानभित्रको आन्तरिकरुपमा प्रजातन्त्र र मानवअधिकार बहालीसँग गाँसिएको राजनीतिक समस्या हो। यसकारण पछिल्लोपटक विश्वभरका जनआन्दोलनहरुबाट निरंकुश शासनका पर्खालहरु भत्किइरहेको घटनाबाट पाठ सिक्दै सन् २०११ भित्र नै राजनीतिक समाधान खोज्न यही विज्ञप्तिमार्फत् भुटानी राजा जिग्मे गेसार नाम्गेल वाङ्चुकको ध्यानाकर्षण गराउन चाहन्छौं- पौडेलले भनेका छन्।