काठमाडौ – सर्वोच्च अदालतको आदेशअनुसार सभासद् श्यामसुन्दर गुप्ताको पद खारेज भएको छ । आइतबार बसेको संविधानसभा बैठकमा उनको पद खारेज भएको सूचना सुनाइयो । उनी मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ जनाको कोटामा सभासद् भएका थिए ।
सर्वोच्चका न्यायाधीश बलाराम केसी र भरतराज उप्रेतीको संयुक्त इजालाशले गत माघ २८ गते गुप्ताको मनोनय सहमतिका आधारमा नभएको ठहर गर्दै उनको पद खारेज गर्ने फैसला सुनाएको थियो । फैसलाको पूर्ण पाठसहित सर्वोच्चले संविधानसभा सचिवालयलाई पद खारेजका लागि आवश्यक कारावही गर्न पत्र पठाएको हो ।
अदालतले गुप्तालाई सभासदमा मनोनय गर्ने निर्णय बदर गर्दै संबैधानिक ब्यवस्था बमोजिम सहमतिको आधारमा मनोनयन गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सद्भावना (सरिता गिरी) का तर्फबाट गृप्तालाई सहमतिका आधारमा मन्त्रिपरिषदबाट नियुक्त नभएको दावी गर्दै रिट दायर भएको थियो ।
संविधासभा निर्वाचनअघि राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावनाबाट विभाजित भइ बनेको सद्भावना (आ) ले गुप्तालाई आफ्नो दलबाट निस्कासन गरेको थियो । दल विभाजनताका महासचिव रहेका गुप्तालाई पछि पार्टीबाट निस्कासन गरिएको थियो । उक्त दलले खुशीलाल मण्डललाई मनोनयन गर्न तत्कालिन सात दलमा सिफारिस गरेको थियो ।



