कांग्रेस सभापति सुशील कोइरालाले पदाधिकारी मनोनयन प्रस्ताव फेरि ल्याउने

– कुलचन्द्र न्यौपाने

 

काठमाडौ – कांग्रेस सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्न तीन महिनाअघि राखेको प्रस्ताव आगामी ९ गतेको केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने भएका छन् ।

 

कोइरालाले शनिबारको बैठकमा पदाधिकारी मनोनयनलाई टुंगो लगाउने जानकारी गराउँदै निर्वाचित केन्दीय कार्यसमितिको मात्रै बैठक बोलाएका हुन् । विधानतः पदाधिकारी मनोनयन गर्ने प्रस्ताव निर्वाचित कार्यसमितिले अनुमोदन गर्नुपर्ने छ । पार्टी एकताको भावनाअनुसार नेता शेरबहादुर देउवा पक्षसँग सल्लाह नै नगरी एकलौटी ढंगबाट प्रस्ताव ल्याएको भन्दै केन्द्रीय कार्यसमितिमा विरोध भएपछि मनोनयन प्रस्ताव निर्णयमा प्रस्तुत नगरी थन्क्याइएको थियो ।

 

महामन्त्रीमा सिटौलाको नामप्रति आपत्ति जनाउदै आफ्नै समूहका केही सदस्यले समेत असन्तुष्ट प्रकट गरेपछि निर्वाचित कार्यसमितिमा कोइराला अल्पमतमा परेका थिए ।

 

६४ जनाको निर्वाचित कार्यसमितिमा संस्थापन पक्षमा ३५ र देउवा पक्षमा २९ सदस्य छन् । यथास्थितिमा पदाधिकारी मनोनयन प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्तुत भएमा संस्थापन पक्षकै अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ र गगन थापाले विपक्षीमा मतदान गर्ने बताएका छन् । असन्तुष्ट मध्येकी सुजाता कोइराला तटस्थता बस्न सक्ने संकेत दिइएकी छिन् । तीन जनाले विपक्ष्ामा मतदान गरे र सुजाता तटस्थ रहे मनोनयन प्रस्ताव अल्पमतमा पर्नेछ । सहमति कायम नभएमा देउवा पक्षले पदाधिकारी मनोनयन प्रस्ताव अनुमोदन गराउन बैठकमा मतदानमा जानुपर्ने माग गर्दै आएको छ ।

 

प्रस्तावलाई लिएर पार्टीमा पुनः विवाद उब्जने भएकाले कोइरालाको निर्णय ‘उपयुक्त समयमा’ नभएको भन्दै केही नेताहरूले जेठ १४ सम्म आन्तरिक विवाद उठ्ने कुनै प्रस्ताव नल्याउन कोइरालालाई सुझाव दिएका छन् । तर कोइरालाले भने सहमहामन्त्रीसहित, केन्द्रीय समितिमा मनोनीत बाँकी सदस्य, विभाग, संसदीय समितिमा देउवा समूहकालाई पनि समेट्ने बताएका छन् ।

 

देउवा पक्षका नेताहरूले भने अहिलेसम्म कोइरालापक्षबाट त्यस्तो प्रस्ताव नआएको र छलफलसमेत नभएको बताए । ‘कुराकानी अघि बढेको थाहा छैन, देउवाजी कार्यक्रमको सिलसिलामा सुर्खेत हुनुहुन्छ, उहाँ ६ गते मात्रै राजधानी र्फकने कार्यक्रम छ,’ देउवा पक्षीय केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने ।

 

कोइरालालाई साथ दिँदै आएका संसदीय दलका नेता पौडेलसमेत यतिखेर सभापति कोइरालाको काम गर्ने शैलीप्रति असन्तुष्ट छन् । ९ गतेको बैठकबारे समेत कोइरालाले पौडेललाई केही नबताएको र त्यसबारे छलफल नगरेको पौडल निकट एक सदस्यले बताए । ‘उहाँ (कोइराला) केही मानिसको घेरामा बसेर काम गर्नुहुन्छ,’ ती सदस्यले भने, ‘छलफल गरेर मात्रै प्रस्तावहरू ल्याउनुहोस् भन्दा तीनै तीन/चार जनाको दबाबमा परेर उहाँ अघि बढ्नुहुन्छ, यसबाट पौडेल पनि सन्तुष्ट हुनुहुन्छ ।’  केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रातृसंस्था विघटनबाट उब्जेको आन्तरिक विवाद कायमै रहेको अवस्थामा अर्को विवाद निम्त्याउने प्रस्ताव ल्याउन नहुने बताए । बरु पार्टीका सबै कुरा थाँती राखेर शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्दि्रत हुनुपर्ने उनले उल्लेख गरे । सहमति कायम नगरी कोइरालाले पदाधिकारी मनोनयनलाई निर्णयमा लगेमा जनसभाको कार्यक्रमसमेत प्रभावित हुनसक्ने उनको भनाइ छ ।

 

कोइराला ९ गतेको बैठकमा जसरी पनि पदाधिकारी टुंग्याउने पक्षमा छन् ।