माओवादी बाबुराम भट्टराईद्वारा शान्ति प्रक्रिया छाडेर युद्धमा फर्कने मनसाय नरहेको धारणा व्यक्त

काठमाडौं – माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति प्रक्रिया छाडेर युद्धमा फर्कने मनसाय नरहेको बताएका छन् ।

‘शान्ति प्रक्रियामा आइसकेपछि यसैलाई नै पूर्णता दिनुपर्छ,’ पत्रकार जगत नेपालद्वाला लिखित स्व. गिरिजाप्रसाद कोइरालाको ‘आफ्नै कुरा’ नामक पुस्तकबारे सोमबार राजधानीमा टिप्पणी गर्दै भट्टराईले भने, ‘अब यो प्रक्रियालाई छाडेर फेरि अर्कोतिर (युद्धतिर)जाने हो कि भन्ने हाम्रो कुनै मनसाय छैन ।’

भट्टराईले सैद्धान्तिकरुपमा जनविद्रोहको नीतिमै रहे पनि व्यवहारिकरुपमा त्यो सम्भव नभएको उनको भनाइ छ । उनले जनविद्रोहको पार्टी नीतिप्रति आशंका नगर्न आग्रह गर्दै भने, ‘यो मेरो  व्यक्तिगत विचारमात्र होइन, पार्टीकै आधिकारिक धारणा हो ।’

संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सरकारको आवश्यकता औंल्याउदै उनले सहमतीय सरकार भए संविधानसभाको म्याद थप गर्न सकिने बताए । ‘संविधानसभाबाट संविधान बनाएर जानुको विकल्प छैन,’ उनले भने, ‘समय पुग्दैन भने थप गर्न सकिन्छ त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ उनले माओवादी, कांग्रेस, एमाले र मधेसवादी दलहरुबीच सहमति नभएसम्म शान्ति प्रक्रिया पनि अगाडि नबढ्ने दाबी गरे ।

एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जेठ १४ अघि नै संविधानको प्रारम्भिक मस्यौदा ल्याउनुपर्ने बताए । ‘त्यसो हुन सकेमात्र जनतामा संविधान जारी हुन सक्छ भन्ने आशा रहन्छ,’ उनले भने, ‘अन्यथा अहिलेकै अवस्थामा संविधानसभाको म्याद थपे जनताले विश्वास गर्न सक्ने अवस्था छैन ।’

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले कुनै शक्तिलाई अलग्याएर शान्ति प्रक्रिया पूरा हुन नसक्ने बताए । ‘नेपाली कांग्रेस वा माओवादीलाई अलग्याएर र शान्ति प्रक्रिया पूरा हुन सक्दैन,’ उनले भने, ‘माओवादीको लोकतान्त्रिक र कांग्रेसको साम्यवादी धार एकै ठाउँमा उभिनैपर्छ, यसको विकल्प छैन ।’