दुल्लू, दैलेख – पूर्व प्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवाले माओवादी लडाकुलाई तत्काल शिविरबाट खाली नगरे कांगे्रसले देशव्यापी आन्दोलनको सुरुवात गर्ने बताएका छन् ।
‘लडाकुलाई शिविरमै राखेर हतारमा संविधान जारी गर्नु हुदैन्, कांग्रेस दैलेख क्षेत्र नं २ ले सोमबार दुल्लूमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘पहिला माओवादी सेनाको टुंगो लगाउँ, त्यसपछि मात्र संविधान घोषणा गरौं ।’ उनले करिब ३ मिनेट सभालाई सम्बोधन गरेका थिए ।
कांग्रेसप्रति आस्था राखेकै भरमा सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट मारिएका ७ जना कार्यकर्ताका परिवारलाई देउवाले कदरपत्र प्रदान गरेका थिए । नेता देउवाले शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने महान जिम्मेवारी पुरा गर्न नेताहरु गम्भीर हुनुपर्ने बताए । उनले आ-आफ्ना हठ त्यागेर जनताका साझा एजेण्डा पुरा गर्न दलहरुलाई आग्रह गरे ।
पूर्वमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडले माओवादीले एक पछि अर्को गर्दै लोकतन्त्रमाथि धावा बोले उनीहरुकै लागि घातक हुने विचार व्यक्त गरे । केन्द्रीय सदस्य किशोरसिंह राठौरले शान्ति र संविधानलाई निष्कर्शमा पुर्याउन सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।



