काठमाडौ – भारतीय विदेशमन्त्री एसएम कृष्णले बुधबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईका अनुसार नेपालमा सरकार परिवर्तन भएपछि भारतीय पक्षको विशिष्ट तहबाट हुन लागेको यो भ्रमणले द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू पहिल्याउने अपेक्षा गरिएको छ ।
मन्त्री कृष्णका साथ भारतीय विदेश सचिव निरूपमा रावसहितको प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पदाधिकारीसँग भेटवार्ता गर्नेछ । परराष्ट्रमन्त्रीको नियुक्ति भइनसकेको अवस्थामा उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले नेपाली वार्ताटोलीको नेतृत्व गर्ने सरकारको तयारी छ । अधिकारी हाल अमेरिका भ्रमणमा छन् ।



