राज्य व्यवस्था समितिद्वारा अर्थ राज्यमन्त्रीमा नियुक्ति पाएका विवादित व्यक्ति ल्हारक्याल लामाका विषयमा प्रष्ट पार्न प्रधानमन्त्री झलनाथ खनालसंग लिखित जवाफ माग

काठमाडौ – व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले अर्थ राज्यमन्त्रीमा नियुक्ति पाएका विवादित व्यक्ति ल्हारक्याल लामाका विषयमा प्रष्ट पार्न प्रधानमन्त्री झलनाथ खनालसंग लिखित जवाफ मागेको छ ।

तीन वटा देशको नागरिकता प्रयोग गरेको र स्वतन्त्र तिब्बत आन्दोलनमा जोडिएका लामाका विषयमा धेरै कुरा सार्वजनिक भएपनि सरकार मौन बसेकोमा आपत्ति जनाउँदै  सभासदहरुले छानवीन गरी प्रचलित कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउन  माग गरेका छन् ।

समितिको बैठकमै उपस्थित रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख भगवतीप्रसाद काफ्लेले नागरिकता दुरुपयोग जस्तो संवेदनशील विषयमा आयोगको पनि ध्यानार्षण भएको बताए । उनले यस विषयमा आयोगले पनि छानविन सुरु गरेको जनाए ।

सरकारी जग्गा आयोगको निर्णयले व्यक्तिको नाममा गरेको विषयमा स्पष्टिकरण दिन आयोग प्रमुख काफ्ले समितिमा उपस्थित भएका थिए । काफ्लेले उक्त निर्णयमा कर्मचारीको हात नभएको जिकिर गरेका छन् । उनले पदाधिकारीबाट भएको निर्णयमा कर्मचरीको हात नहुने भन्दै आफ्नो बचाउ प्रयास गरे । समितिले अख्तियारका विषयमा उपसमिति बनाएर छानविन गर्ने मनस्थिति बनाएको छ ।