राष्ट्रपति रामवरण यादवद्वारा शान्ति प्रक्रिया र संविधान निर्माण बारे प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेतासंग परामर्श

काठमाडौ – राष्ट्रपति रामवरण यादवले शान्ति प्रक्रिया र संविधान निर्माण बारे प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेतासंग परामर्श गरेका छन् । राष्ट्रपतिले प्रधानमन्त्री एंव एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा कांग्रेस सभापति सुशील कोइरालासंग छुट्टा-छुट्टै भेटवार्ता गरेका हुन् ।

मंगलबार बिहान राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा राष्ट्रपतिले तीनै जना नेतासंग शान्ति र संविधान निर्माणका प्रगतिका विषयमा चासो राखेका थिए । प्रधानमन्त्री खनालले बुधबारदेखि हुने भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेपाल भ्रमणबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीसंगको भेटमा सरकार विस्तारक विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शान्ति र संविधानका विषयमा मुख्य तीन दलबीच भइरहेको छलफल बारे चासो राखेका थिए ।

प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माणका लागि शीर्ष नेता तथा विभिन्न राजनीतिक दलहरुमा छलफल भइरहेको जानकारी दिए ।

उनले  शान्ति र संविधान निर्माणका लागि सरकार गंम्भीरताका साथ क्रियाशील भएर लागेको उल्लेख गर्दै भेटमा राष्ट्रिय हित र स्वाधिनताका लागि सरकार गंम्भीर रहेको बताए । राष्ट्रपति र प्रधानमन्त्रीको भेट १ घण्टासम्म भएको थियो ।

माओवादी अध्यक्ष दाहालसंगको भेटमा राष्ट्रपतिले शान्ति र संविधान निर्माण बारे माओवादीको धारणा मागेका थिए । जवाफमा दहालले शान्ति र संविधान निर्माण प्रक्रिया प्रति आफ्नो पार्टी प्रतिवद्ध रहेको जनाएका थिए । उनले तीन दलको बैठकद्वारा गतिरोध अन्त्यको प्रयास भइरहेको राष्ट्रपतिलाई अवगत गराएका थिए ।

कांग्रेस सभापति कोइरालासंग पनि राष्ट्रपतिले शान्ति र संविधानका विषयमा चासो राखेका थिए ।