काठमाडौं – प्रधानमन्त्री झलनाथ खनालले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतीय विदेश मन्त्री एसएम कृष्णासँगको भेटमा खनालले भ्रमणको निम्तो दिएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्रीलाई सकेसम्म छिटै नेपाल भ्रमणमा आउन निम्तो दिनुभएको छ,’ प्रधानमन्त्री-भारतीय विदेशमन्त्रीको भेटपछि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलनराज तुलाधारले सिंहदरवारमा सञ्चारकर्मीसित भने । भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको धेरै भएकाले प्रधानमन्त्री खनालले निमन्त्रणा गरेको तुलाधारले बताए ।
नेपालमा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनमा तत्कालिन भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयी नेपाल आएका थिए । सन् २००२ जनवरी २ देखि ४ तारिखसम्म भएको भारतीय प्रधानमन्त्रीको भ्रमण भने द्विपक्षीय भ्रमण थिएन ।
औपचारिक भ्रमण भने १९९७ को जुनमा तत्कालिन प्रधानमन्त्री आइके गुजरालले गरेका थिए । भेटमा कृष्णाले भारत भ्रमणको निम्तो दिएका थिए । ‘प्रधानमन्त्री हुनेवित्तिकै मनमोहन सिंहले टेलिफोन बधाई र भारत भ्रमणको निम्तो दिनुभएको थियो,’ तुलाधारले भने, ‘विदेश मन्त्रीले पुनः भारत भ्रमणको निमन्त्रणा गर्नुभयो ।’



