काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काले जनविद्रोह त्यागेर शान्ति र संविधानमा प्रतिबद्धता जनाए माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने बताएका छन् ।
खड्काले तत्काल ‘जनविद्रोह’ को कार्यदिशा स्थगन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन सकारात्मक भएको टिप्पणी गरे । उनले केन्द्रीय समितिबाट ‘जनविद्रोह’ को कार्यदिशा त्याग गरेको प्रतिवेदन पास भए दाहालको नेतृत्व स्वीकार्ने बताए ।
तत्काल ‘जनविद्रोह’ को कार्यदिशा कार्यान्वयन गर्ने अवस्था नभएको भन्दै दाहालले बुधबारको पोलिटब्युरो बैठकमा शान्ति र संविधानको प्रक्रियालाई निष्कर्षमा पुर्याउने मुख्य कार्यभारसहितको प्रस्ताव अगाडि सारेका छन् । उनको प्रस्तावबारे छलफल गर्न शुक्रबार माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ ।
‘प्रचण्डजीले हिजोको बैठकमा प्रस्तुत गरेको प्रतिवेदन अत्यन्तै सकारात्मक छ,’ बिहीबार खड्काले रिपोर्टर्स क्लवको साक्षात्कारमा भने, ‘प्रतिवेदन पास भयो भने र माओवादी त्यसमा प्रतिवद्ध भयो भने प्रचण्ड, बाबुराम वा माओवादीको जुनसुकै नेतृत्व कांग्रेसले स्वीकार्छ, हामी त्यो सरकारमा जानेछौं ।’
खड्काले एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वको सरकारमा भने कुनै पनि हालतमा नजाने स्पष्ट पारे । ‘प्रचण्ड र झलनाथले गरेको सात बुँदे सहमति कांग्रेसकै अगाडि नच्यातेसम्म कांग्रेस सरकारमा जाँदैन,’ उनले भने ।



