
आरक्षका वार्डेन अशोक रामको नेतृत्वमा आएको इन्द्र दल गुल्मका सेनासहितको टोलीले कोसी डुबान क्षेत्रमा परिवारसहित बस्दै आएका ५० भन्दा बढी घर भत्काएको हो । घर भत्काएपछि ५० परिवारका ४ सय जनाको बिचल्ली भएको छ ।
परिवारका पुरुष सदस्य खेतमा काम गर्न गएका बेला २०-२२ जना सेना र आरक्ष कर्मचारीले महिलालाई गाली गर्दै घरटहरा भत्काएको पीडितमध्येका सिरन सदाले जानकारी गराए । घरबाट कुनै सरसामानसमेत झिक्न नदिई खुकुरी, बन्चरोले खाँबा काटेर घर भत्काइदिएको उनले बताए । सेना टोलीले बदगामा ९ का सिरन सदा, हरि सदा, दुखाय सदा, शिव सदा, हरि सदा र पुरण सदासहित झन्डै दर्जन परिवारका घरटहरा भत्काएका हुन् ।
यसैगरी बदगामा ८ का पाँचु चौधरी, बलदेव चौधरी, खुसीलाल चौधरीसहितको घरसमेत उनीहरूले भत्काएका हुन् । यता यस वर्ष विभिन्न पहाडी जिल्ल्ााबाट सप्तरी बसाइँ सरेका करिब २५ परिवार सुकुम्बासीले बनाएको टहरासमेत उनीहरूले भत्काएको पीडितको गुनासो छ ।
‘घर आरक्ष क्षेत्रभित्र रहेको भन्दै उनीहरूले भत्काउन थाले,’ पीडित शान्ति राईले भनिन्, ‘हामी कोसीे डुबान क्ष्ाेत्रमा दुःख गरी बस्दै आएको भनेपछि उनीहरूले तथानाम गाली गर्दै लछारपछारसमेत गरे ।’
यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत जिल्लाबाट बसाइँ सरेर सप्तरीको बदगामास्थित कोसी डुबानमा बस्दै आएका २५ परिवारका घरसमेत सेनाले भत्काएका छन् । आरक्ष प्रशासनले सुकुम्बासीको घर आरक्ष सीमामा भएका भनिए पनि उक्त जग्गा कोसी नदीको पानी जम्मा गर्न भारत सरकारले १ सय ९९ वर्षका लागि भाडामा लिएको क्षेत्र भएको बैरवा गाविसका निवर्तमान उपाध्यक्ष रोजित शेखले दाबी गरे ।



