काठमाडौं – विवादका कारण अर्थसचिव रामेश्वर खनालले राजीनामा दिएपछि उक्त जिम्मेवारी राजश्व सचिव कृष्णहरि बाँस्कोटाले सम्हाल्ने भएका छन् ।
अर्थमन्त्री भरतमोहन अधिकारीले बाँस्कोटाले नै तत्कालका लागि दुवै जिम्मेवारी सम्हाल्ने जानकारी दिए । ‘अहिले राजश्व सचिवजीले नै अर्थ सचिवको पनि काम गर्नुहुन्छ,’ अधिकारीले आइतबार राजधानीमा आयोजित कार्यक्रमपछि संवाददाताहरुसित भने ।
अर्थ सचिवका लागि बाँस्कोटासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लिलामणि पौड्याल र सामान्य प्रशासन मन्त्रालयका सचिव बालानन्द पौडेलको नाम चर्चामा छ ।
अर्थमन्त्री अधिकारीले दुवै मन्त्रालयको जिम्मेवारी पूरा गर्न बाँस्कोटा सक्षम रहेको बताए । बाँस्कोटाले नै नयाँ बजेटकोसमेत तयारी गरिरहेकाले तत्काल अर्थ सचिवको जिम्मेवारी कसैलाई नदिइने उनको भनाइ छ ।
आफूलाई ‘माइनस’ गरेर अर्थमन्त्री अधिकारीले मन्त्रालय बाहिरबाट बजेट ल्याउने तयारी गरेपछि खनालले चैत १४ गते राजीनामा दिएका थिए । उनको राजीनामा चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।



