गृह मन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री खनालको अस्तित्व समाप्त हुने एमाले केपी ओलीको चेतावनी

तेह्रथुम  – गृह मन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री झलनाथ खनालको अस्तित्व समाप्त हुने एमाले नेता केपी ओलीले चेतावनी दिएका छन् ।

सोमबार तेह्रथुमको सदरमुकाम म्याङलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले यस्तो कुरा बताएका हुन् । माओवादीलाई गृहमन्त्रालय दिए शान्ति प्रकृया टुंगोमा नपुग्ने बताउँदै नेता ओलीले कुनै पनि हालतमा माओवादीलाई गृह मन्त्रालय नदिने बताए । 

सरकार निर्माण अघि पार्टी अध्यक्ष झलनाथ खनाल र माओवादीबीच भएको सात बुँदे सहमतिप्रति आक्रोशित देखिएका नेता ओलीले कोठामा गरेको गोप्य सहमतिका भरमा देश नचल्ने उल्लेख गरे  ।

संविधानसभाको म्याद कुनै पनि हालतमा थप्न नुहने बताउँदै उनले निश्चित समयमा संविधान लेख्न नसक्ने संविधान सभाको म्याद थप्नुको कुनै औचित्य नभएको प्रतिकृया दिए ।

जेठ १४ भित्र कुनै पनि हालतमा नयाँ संविधान जारी नहुने उनको भनाई थियो ।