कास्की – तोकिएको मितिमा संविधान निर्माण असम्भव भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
राज्यको पुर्नसंरचनाको खाकासँगै संविधान निर्माणको आधारभूत विषयमा टुंगो नलागेकोले संविधान निर्माणको सम्भावना कम हुदै गएकोमा उनले जोड दिए । पोखरामा मंगलबारदेखि हुने तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले दलहरुले संविधान निर्माण भन्दा सरकारको नेतृत्व वा सरकार सम्बन्धी विवादमा नै अलमल गरेकाले संविधान निर्माणमा गतिरोध उत्पन्न भएको बताए ।
त्यसो भए तोकिएको मितिमा संविधान निर्माण हुँदैन भन्ने एक प्रश्नमा केसीले ‘बन्दैन भनेर ठोकुवा गर्न नसकिने र दलहरु बीच कुरा मिले आधार तयार हुन सक्ने’ जनाए । उनले जातीय आधारमा राज्य निर्माण हुँदा मुलुकको राष्ट्रियता र अखण्डतामा गम्भीर संकट उत्पन्न हुने बताए ।
संघीय राज्यले देशमा जातीय द्वन्द्व चर्केर देश राष्ट्रिय विघटनमा जाने चेतावनी दिए । उनले मुलुकलाई यो खतरा र चुनौतीबाट जोगाउन दलहरु बीचको सहकार्य र एकतामा जोड दिए ।



