कुटनीतिक राहदानी दुरुपयोग गर्ने सभासदद्वयलाई थप सात दिन थुनामा राख्न आदेश

काठमाडौं  – कुटनीतिक राहदानी दुरुपयोग गरेको प्रमाणसहित पक्राउ सभासदद्वय गायत्री शाह र विश्वनाथप्रसाद यादवलाई थप सात थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले सभासदद्वय शाह र यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको हो । यसअघि अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रहरीले भने थप समय १५ दिन माग गरे पनि जिल्ला अदालतले यसअघि चार र पुनः ७ दिनको म्याद थप गरेको हो । प्रहरीले २५ दिनसम्म थुनामा राख्न पाउँछ । त्यसपछि भने मुद्धा दायर गर्नुपर्छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनता दलकातर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने गायत्री साह र मधेसी जनअधिकार फोरमका सभासद् विश्वनाथप्रसाद यादवलाई संविधानसभा भवन नयाँ बानेश्वरबाट गत मंगलबार अपरान्ह पक्राउ गरेको हो ।

पक्राउ परेका सभासद् यादवले दुरुपयोग गरिएको पासपोर्ट आफ्नो नभएको दाबी गर्दै आफूमाथि षड्यन्त्र भएको बताएका छन् ।